इटहरी : पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीले असुरक्षित भएको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । धरान तीनकुने आसपास डेरामा बस्ने विद्यार्थी माथि डर धम्की देखाउने काम निरन्तर भइरहेको विद्यार्थीले बताएका छन् ।

पुर्वान्चल क्याम्पसका स्ववियु सभापति नवीन श्रेष्ठका अनुसार विद्यार्थीका सामान चोरी हुने र स्थानीय युवाले धम्क्याउने गतिविधि बढ्दै गएको छ । टाढा बाट आएर भाडामा बसेका विद्यार्थीलाई सताउने काम नरोकिएको भन्दै ध्यानाकर्षण गराइएको उनले बताए । 

"अराजक समूहद्वारा डर, धम्की दिने र कोठाबाटै मोबाइल ल्यापटप जस्ता सामानहरू चोरी हुने घटना बारम्बार भइरहेको छ। विगतमा पनि यस्तो घटना हुँदा प्रहरीसँग यस क्षेत्रमा प्रहरी बिट राख्ने सहमति भएको थियो तर त्यो कार्यान्वयन नभएको हुँदा इलाका प्रहरी कार्यालयको नेतृत्वमा प्रहरी बिट निर्माण गरी प्रहरी गस्ती बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ," प्रहरीलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।

मोरङको लेटाङ बाट इलेक्ट्रोनिक्स इन्जिनियर पढ्न धरान आएका विनम श्रेष्ठको ल्यापटप हराएको १ महिना भयो । पुर्वान्चल क्याम्पसमै अध्ययनरत उनले बारम्बार यस्ता घटना विद्यार्थीले भोग्नु परेको बताए । कहिले मोबाइल कहिले ल्यापटप हराउने घटनाले आतङ्कित बनाएको उनको भनाइ छ ।