इटहरी : यातायात व्यवस्था कार्यालय कोसी प्रदेश बेहाल अवस्थामा चलिरहेको छ । एक साता अगाडी बाइक विक्रीको लागि इटहरी यातायात कार्यालय पुगेका शुकदेव सुब्बा फाइल नभेटिएपछि अलमलमा परे । यसअघि कार्यालय बाहिरै एक व्यक्ती सँग सम्पर्क गरेर नवीकरण गरेका उनी यस पटक बिलखबन्दमा परे । फाइल नभेटिएपछि उनी खाली हात फर्किए । बाइक विक्री गरेर पैसा लिएको एक साता भयो । तर उनको फाइल हराएपछि पैसा फिर्ता गर्ने की के गर्ने भनेर दोधारमा छन् लिम्बु । 

लिम्बु  जस्तै दैनिक धेरै सवारी धनीको यही समस्या कार्यालयमा पुग्ने गरेको छ । पुराना फाइल खोज्न नसकेपछी नयाँ कागजपत्र संकलन गर्नुपर्ने झण्झटमा पर्छन सवारी धनी । 

कार्यालय भित्र फाइल खोज्न सक्ने अवस्था पनि देखिँदैन । कार्यालयका कर्मचारी फाइल खोज्ने भन्दा फाइल लिएर आउनु भन्दै पन्छाउने गर्छन् । कोठा भरी राखिएका फाइन कुन कसको हो भनेर छुट्याउनै मुस्किल पर्छ । कोठामा नअटाएका अधिकांश फाइल बोरामा पोको पारेर थन्काइएको छ । त्यतीमात्र हैन जथाभाबी अलपत्र पारिएका फाइल असरल्ल छरिएका छन् । 

फाइल मात्र हैन कार्यालयको व्यवस्थापन झनै टिठ लाग्दो छ । दैनिक हजारको सङ्ख्यामा आउने सेवाग्राहीको लागी शौचालय र खानेपानीको प्रबन्ध हुन सकेको छैन । सेवाग्राही कार्यालयका कर्मचारी सँग सिधा सम्पर्कमा जान सक्ने अवस्था छैन । 

कार्यालय प्रमुख राजकुमार गुप्ता कार्यालयमा ठाउँको अभावले समस्या भएको बताउँछन् । व्यवस्थापनमा अधिकतम उपाय अपनाए पनि बर्षौ देखी थुप्रिएका फाइलको कारण यस्तो भएको उनको तर्क छ । केही महिना पछि अनलाइन मार्फत कारोबार हुने तयारी भएकाले त्यसपछि समस्या नहुने उनले बताए ।

sawari-file-4sawari-file-1sawari-file-3