धरान : नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ साधारण सभा काठमाण्डौमा सुरु भएको छ । तर महासङ्घको अध्यक्ष बाहेकको निर्वाचनको चर्चा बाहेक साधारण सभामा छलफलका एजेन्डाहरू बारे जिल्ला/नगर सङ्घहरू स्पष्ट नभएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।
महासङ्घले भूपू अध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा महासङ्घलाई व्यवस्थित, लोकतान्त्रिक बनाउन महासङ्घको विधान २०४९ (छैटौँ संशोधन सहित)मा समयानुसार संशोधन गर्न मस्यौदा समिति गठन गरेको थियो ।
उक्त समितिले विधान संशोधनको मस्यौदा पनि महासङ्घको कार्यसमितिलाई बुझाएको थियो । चालु महाधिवेशनमा भने मस्यौदा संशोधन छलफलको एजेन्डामा स्पष्ट उल्लेख छैन ।
साधारण सभा चलिरहेकै बिच सुनसरी उद्योग वाणिज्य सङ्घले विधान संशोधनको विषय उठाएको छ । सङ्घले यसअघि चैत ३ गते महासङ्घको कार्यालयमा लिखित प्रस्ताव दर्ता समेत गरेको अध्यक्ष श्रेष्ठले बताए
प्रस्तावमा स्पष्ट रूपमा ‘महासङ्घको सातौँ संशोधित विधान मस्यौदा ५७ औँ वार्षिक साधारण सभामा एजेन्डा थप गरी छलफल गराइदिन अनुरोध गर्दछु ।’
महासङ्घको विधानमा छैटौँ संशोधन गरिएपछि महासङ्घको अधिवेशनहरूमा अध्यक्षको चुनाव हुँदैन । अघिल्लो अधिवेशनमा निर्वाचित वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको छ ।
महासङ्घको मुख्य नेतृत्वकै निर्वाचन नहुने पद्धति अलोकतान्त्रिक भएकोले संशोधित विधानको मस्यौदामा प्रत्यक्ष निर्वाचनका प्रावधानहरू प्रस्ताव गरिएको बताइएको छ ।
अहिलेको निर्वाचन पद्धतिले महासङ्घले नेतृत्व गर्ने जिल्ला/नगर सङ्घहरूको प्रतिनिधित्व, स्थानीय उद्योगी, व्यवसायीका एजेन्डाहरू ओझेलमा पर्दै आएकाले सुनसरी उद्योग वाणिज्य सङ्घ विधान संशोधनको पक्षमा रहेको अध्यक्ष श्रेष्ठले बताए ।










































































