धरान : विक्रम राई स्मृति धरान भेट्रान फुटबल प्रतियोगिताको आज बुधवार भएको उद्घाटन खेलामा आयोजक  हाम्रो धरान भेट्रान क्लबले युनाईटेड भेट्रान विराटनगरलाई ४ को विरुद्ध ५ गोलले पराजित गरेको छ ।

तेस्रो भेट्रान प्रतियोगिता धरान भेट्रान फुटबल क्लबको आयोजनामा भएको हो । उद्घाटन खेलबाट हाम्रो धरान भेट्रानले विजयी सुरुआत गरेको छ । 

उद्घाटन खेलमा हाम्रो धरान भेट्रानबाट अशोक राई, योगेन राई, सन्तोष लिम्बु, राकेश राई र लक्ष्मी याक्खाले गोल गरेका थिए । 

युनाईटेड भेट्रान क्लब विराटनगरको तर्फबाट महेन्द्र खवास, निर्मल खडका, डम्बर राई र सुरेश अधिकारीले गोल गरेका थिए । 

खेलको म्यान अफ द म्याच हाम्रो भेट्रानका लक्ष्मी याक्खा घोषित भए । उनलाई नगद २ हजार रुपया पुरस्कार प्रदान गरियो । 

धरान रङ्गशालामा सञ्चालन भएको प्रतियोगिता प्रमुख अतिथि उपमेयर आईन्द्र बिक्रम बेघाले बेलुन उडाएर उद्घाटन गरेका थिए ।

उनले उपमहानगरपालिकाले आम्दानीको २५ प्रतिशत खेलकुदमा लगानी गरेको बताए । उपमहानगरपालिकाको खेलकुद विकास समिति गठन हुन नसकेको प्रसङ्ग उल्लेख गर्दै उपमेयर बेघाले भने ‘छलफल र बहस गरेर खेलकुद विकास समिति गठन गर्ने प्रतिबद्ध व्यक्त गर्दछु ।'

उद्घाटन समारोह आयोजक धरान भेट्रान फुटबल क्लबका अध्यक्ष रोमी मोक्तानको अध्यक्षतामा भएको  थियो ।