धरान : तत्कालीन वराहक्षेत्र नगरपालिका र प्रदेश नं १ सरकारले स्वीकृत गरेको वराहक्षेत्रको २०० बिघा जमिनमा नेपालकै पहिलो फिल्मी सिटी निर्माण गर्ने योजनाको डिपिआर तयार भएको नेपाल चलचित्र निर्देशक समाजकाका केन्द्रीय महासचिव तथा चलचित्रकर्मी महासङ्घका कोशी प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् ।

तर, त्यसको कार्यान्वयनमा ढिलाइ भइरहेको उनले बताए । नेपाल चलचित्र पत्रकार सङ्घद्वारा आज आयोजित नयाँ वर्ष २०८० को शुभकामना कार्यक्रममा उनले भने ‘वराहक्षेत्रमा फिल्म सिटीको योजना कार्यान्वयन भएमा नेपालको चलचित्र उद्योग काडमाण्डौबाट वराहक्षेत्रमा केन्द्रित हुनेछ ।’

राजनीतिक अस्थिरका कारण डिपिआर तयार भए पनि योजना कार्यान्वयन गर्न कठिन भइरहेको बताउँदै उनले भने ‘चलचित्र सम्बद्ध संस्थाहरूले योजनाको काम अघि बढाउन प्रयास गरिरहेको छ, त्यसमा मिडियाहरूले पनि जोडबल गर्नुपर्‍यो ।’ कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर आइन्द्रबिक्रम बेघाले चलचित्रले समाजमा रहेको विकृतिलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने कार्य गर्ने भएकोले चलचित्र र पत्रकारिताको सम्बन्ध नङ र मासुको जस्तो भएको बताए ।

राज्यको दमन, विभेद, दम्भ, उत्पीडनलाई विद्रोह गरेर ल्याएको परिवर्तित सङ्घीय व्यवस्थालाई स्थापित गर्न चलचित्रकर्मी, सर्जक पत्रकारको ठुलो भूमिका रहेको उनको भनाई थियो । सरकारसँग जनताको ठुलो आशा अपेक्षा रहेको तर सरकारसँग थोरै लगानी रहेको उनले बताए ।

पत्रकार महासघ सुनसरीका पूर्व अध्यक्ष हर्ष सुब्बाले चलचित्र पत्रकारहरूले नेपाली चलचित्र उद्योगको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै त्यसको लागि चलचित्रको सबै पक्षका बारेमा जानकारी राखेर समाचार, समीक्षा लेख्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताए ।

याक्थुङ्ग चलचित्रकर्मी सङ्घका प्रदेश अध्यक्ष नवीन मेन्याङबोले पछिल्लो समय नेपाली चलचित्र यथार्थवादी धरातलमा फर्किन थालेको बताउँदै अबका सुटिङहरू गाउँ घरको यथार्थ दृश्य र कथामा आधारित हुन थालेको उल्लेख गरे । यसको उदाहरण ‘जारी’ चलचित्रको लोकप्रियता तथा आर्थिक सफलता बनेको बताए ।

पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले नयाँ वर्ष विक्रम सम्बतको मात्र होइन नेपालमा प्रचलनमा रहेको सबै सम्बत्हरुको नयाँ वर्ष मनाउनु पर्नेमा जोड दिए । चलचित्र पत्रकार सङ्घ सुनसरी शाखाका सभापति विनोद विश्वकर्माले चलचित्र उद्योगले पूर्वको पर्यटनलाई ठुलो सघाउन पुर्याउने बताउँदै पर्यटनमुखी कार्यक्रमहरू शाखाले तर्जुमा गरेको बताए । कार्यक्रममा प्रेस सेन्टर सुनसरी अध्यक्ष तीर्थ कार्कीले शुभकामना दिएका थिए ।

chalachitra-patrakar