• लोकराज निरौला

दासको मानसिकता बोकेकाहरूलाई

मालिक हुने चाहना हुँदैन

त्यसैले उनीहरूलाई गणतन्त्र मन पर्दैन ।

एक्लै खाने एकलकाँटेहरूलाई

साथी छिमेकी मन पर्दैन

त्यसैले उनीहरूलाई सङ्घीयता मन पर्दैन ।

...

आफ्नो मात्र धर्म ठुलो ठान्नेहरूलाई

अरूको धर्म मन पर्दैन

त्यसैले उनीहरूलाई धर्म निरपेक्षता मन पर्दैन ।

...

आफै मात्र खानेहरूलाई

अरूलाई केही दिन मन लाग्दैन

त्यसैले उनीहरूलाई समानुपातिक समावेशिता मन पर्दैन ।

...

जातीय अहंकारवादीहरुलाई

अरूको अस्तित्व स्विकार्न मन लाग्दैन

त्यसैले उनीहरूलाई जातीय पहिचान मन पर्दैन ।

...

भूगोलमा ठुलो राष्ट्र खोज्ने

अन्धा राष्ट्रवादीहरूलाई

मधेसको धोती र हिमालको बख्खु मन पर्दैन ।

...

जातीय भेदभाव र छुवाछुत बार्ने

अन्धा जातीवादीहरुलाई

जातीय एकता र सद्भाव मन पर्दैन ।

...

लिङ्गिय शोषण र उत्पीडनमा रमाउने

कठोर धर्म संस्कार परम्परावादीहरूलाई

छाउपडी गोठ भत्काएको मन पर्दैन ।

...

आलिसान महलमा बसेर अघाएका

सुकिला मुकिलाहरुलाई

श्रमजीवी भोका नाङ्गा मान्छेहरू मन पर्दैन ।

...

बल र वैशले मात्तिएकाहरूलाई

कुनै अर्ति उपदेश लाग्दैन

त्यसैले उनीहरूलाई निर्धा दुब्ला मान्छेहरू मन पर्दैन ।