धरान : एसइई परिक्षा दिएर खाली बसेका विद्यार्थीहरूका लागि बास्केटबल प्रशिक्षण दिँदै प्रतिभाशाली खेलाडिको खोजी गर्न शनिवार देखी प्रशिक्षण शिविर सुरु भएको छ ।

धरान रङ्गशाला स्थित इण्डोर बास्केटबल कोर्टमा सञ्चालन भएको शिविर धरान बास्केटबल सङ्घले आयोजना गरेको हो । प्रक्षिणमा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग धरान उपमहानगरपालिकाको संयोजन रहेको छ ।

एसइईका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरूलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा धरानका स्कुल तथा कलेजबाट ५० जना विद्यार्थी सहभागी छन् । शिविर तीन हप्ता सम्म चल्ने धरान बास्केटबल सङ्घले जनाएको छ ।

सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुबेदिका अनुसार सहभागी उत्कृष्ट विद्यार्थीलाई धरानका कलेजहरूमा छात्रवृत्तिका लागि सिफारिस गरिने छ ।

शिविरमा सहभागीहरूलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा. आशा राई, युगल लिम्बू, दिवस राई र सुसन श्रेष्ठ लगायतले प्रशिक्षण दिँदै छन् । प्रशिक्षण बिहान ६ बजे देखि ८ बजे सम्म चल्ने बताइएको छ ।