विराटनगर : विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताएका छन् ।

विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको विकासलाई महानगरले जोड दिएको  बताए ।

उनले केही समय अगाडि महानगरले नेपाल–भारत साहित्य महोत्सव गरेको समेत स्मरण गराए । मेयर कोइरालाले विराटनगर प्रज्ञा प्रतिष्ठानको तयारीमा समेत महानगर लागेको प्रस्ट पारे ।

“महानगरले चिल्ला सडक, ठूला भवन बनाउनेतर्फ मात्रै ध्यान दिएको छैन, भाषा, साहित्य र संस्कृतिको सँगसँगै विकास गर्ने योजना बनाएको छ”। उनले भने, “त्यसका लागि प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी भइरहेको छ । कार्यविधि र नियमावली बनिसकेको छ ।आगामी नगरपरिषदमार्फत नियमावली पास गरेर प्रज्ञा प्रतिष्ठान गठन गर्नेछौं । अनि भाषा, साहित्य र संस्कृतिको सबै काम त्यही प्रतिष्ठानले गर्नेछ ।” 

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि साहित्यमा योगदान  पुर्‍याएबापत साहित्यकार प्रा.डा. गोपाल भण्डारी र कवि टीका आत्रेयलाई पुरस्कृत गरेको हो ।

nagendra1

प्रतिष्ठानले भण्डारीलाई २५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार’ र आत्रेयलाई १५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र प्रतिष्ठानकी संरक्षक सरला चापागाईंले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार विवश पोखरेल, खेम नेपाली, गङ्गा सुवेदी, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, महासचिव दिङ्लाली कान्छो, साहित्यकार कविता केशरी, कलाकार राजेश थापा, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायतले नेपाली भाषा र साहित्यको विकासमा नरेन्द्र चापागाईंको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

प्रतिष्ठानले हरेक वर्ष साहित्यिक क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गर्दै आएको छ ।