इटहरी : इटहरी र धरान दुई उपमहानगरपालिका बिचको सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले आग्रह गरेका छन् । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेपछि उत्पन्न विवादको समाधानको लागि आग्रह गरेका हुन् ।
२०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर पौडेलले सुझाएका छन् । सीमा जस्तो संवेदनशील र गम्भीर विषयलाई संवाद, सहमति र सहकार्य गर्न म तयार रहेको बताए ।
मेयर कक्षमा सोमबार पत्रकार सम्मेलन गर्दै पौडेलले आफू धरानको विकास, समृद्धि सँगै  धराने जनताप्रति सम्मान भाव रहेको प्रष्ट पारे । "धरान र इटहरीका नागरिकका बिचमा कुनै किसिमको कलह, द्वन्द्व, द्वेष, बैमनश्यता, मतभेद सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछु ।," विज्ञप्ति मार्फत उनले भनेका छन् , "दशकौँ अगाडी देखी प्रहरी प्रशासन र सामुदायिक वन उपभोक्ता समितिहरूको क्षेत्राधिकार र नागरिक स्तरको सम्बन्धमा दरार आउन नदिनकालागि दुवै उपमहानगरपालिकाको नेतृत्वले आपसी समझदारी र समन्वयमा सीमा जस्तो संवेदनशील विषयमा आवश्यक कदम चाल्दा प्रभावकारी हुनेछ। त्यसैगरी दुवै उपमहानगरपालिका बिच द्वन्द्व सिर्जना नभई स्थायी समाधान हुने परिस्थिति बन्नेछ भन्ने ब्यहोरा सम्बन्धित सरोकारवालाहरूमा आग्रह र अनुरोध गर्न चाहन्छु ।"
इटहरीको सिमाना सेउती पुल सम्म रहेको बताउँदै उनले सीमा सम्बन्धी हेर्ने सम्बन्धित निकाय सँगको सहकार्यमा वार्ता मार्फत समाधान गर्न आग्रह गरे । यो राजनैतिक विषय भएकाले यसलाई सङ्घीय सरकारका निकायबाट हल खोज्नुपर्ने उनको भनाइ छ ।
सीमा सम्बन्धी हेर्ने सम्बन्धित निकाय सँगको सहकार्यमा वार्ता मार्फत समाधान गर्न आग्रह गर्दै पौडेलले यो राजनैतिक विषय भएकाले यसलाई सङ्घीय सरकारका निकाय बाट हल खोज्नुपर्ने धारणा राखे ।