इटहरी : इटहरी उपमहानगरपालिकाको पानीपियामा धरानका मेयर हर्क साम्पाङले सीमा बोर्ड राख्न लगाएपछिको विवाद थप चर्किँदै गएको छ । आइतबार दिउँसो मेयर साम्पाङले कर्मचारीलाई बोर्ड राख्न निर्देशन दिएपछि इटहरीको क्षेत्राधिकार भित्र राखिएको बोर्ड युवा सङ्घ इटहरीले उखेलेको थियो ।

युवा सङ्घले बोर्ड उखेलेपछि मेयर साम्पाङले कारबाही गर्न उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही कसैलाई कारबाही नगर्न इटहरी उपमहानगरपालिकाले माग गरेको छ। मेयर हेमकर्ण पौडेलले मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई माग पत्रमार्फत बोर्ड हटाएको विषयमा युवा सङ्घ इटहरीमा आबद्ध कोही कसैलाई कारबाही नगर्न माग गरेका छन् । ‘यदि कारबाही गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना धरानका मेयर साम्पाङ र कारबाही गर्ने निकायले बेर्होनुपर्नेछ,’ माग पत्रमा भनिएको छ ।

जिल्ला प्रशासनलाई पठाएको माग पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था एवम् सहकारी मन्त्रालय, धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीलाई पठाइएको छ।

सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका मेयर पौडेलले धरानका मेयर साम्पाङ्लाई आग्रह पनि गरेका छन् । ‘संवेदनशील र गम्भीर विषयलाई अन्तर पालिकाको साझा समस्याहरू आपसी संवाद, सहमति र सहकार्यबाट गर्न इटहरी तयार छ,’ पौडेलले भनेका छन् ।

उनले २०१० साल भन्दा अगाडिबाट इटहरीको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न सुल्झाउँदै इटहरी र धरानका नागरिकबिच कुनै पनि किसिमको कलह, द्वन्द्व, द्वेष, बैमनश्यता र  मतभेद सिर्जना हुने किसिमका कार्य नगर्न/नगराउन आग्रह गरेका छन् । मेयर पौडेलले धरानका मेयर साम्पाङ्लाई धैर्य भएर अघि बढ्न पनि सुल्झाएका छन् ।

सीमा सम्बन्धी हेर्ने सम्बन्धित निकायसँगको सहकार्यमा वार्ता मार्फत समाधान गर्न आग्रह गर्दै पौडेलले यसलाई जिम्मेवार व्यक्ति र अन्य नागरिकहरू धैर्य हुन आग्रह गरेका छन् ।

itahari-Karbahi-letter