झापा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लासहित कोशी प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुन आज झापा आउँदै छन् ।

चार दिनसम्म प्रदेशका विभिन्न जिल्लाका कार्यक्रमहरूमा सहभागी हुनका लागि उनीसहित पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ झापा आउँदै छन् ।

पार्टीका प्रदेश कमिटी सचिव चिन्तन पाठकका अनुसार अध्यक्ष ओली आज बिहान काठमाडौँबाट भद्रपुर आउने कार्यक्रम छ । झापाको बुद्ध शान्ति गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अध्यक्षसहित उपाध्यक्ष नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिए ।

अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षेत्र कन्याममा बस्ने तय भएको छ । भोलि इलाममा आयोजना हुने जिल्ला परिषद् भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भोलि उनी पाँचथरको फिदिममा बास बस्ने कार्यक्रम छ।

वैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराईमा सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ । सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरूसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ ।

तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्ने र १६ गते बिहान फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा आउने कार्यक्रम रहेको छ ।

दमकमा पार्टीले आयोजना २८ गते देखि आयोजना गरेको केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिए ।

बैठक स्थलको निर्क्योल,नेताहरूको वासस्थानको व्यवस्था, बैठकपछि झापाका विभिन्न राजनीतिक र पर्यटकीय स्थलहरू नेताहरूलाई अवलोकन गराउने ठाउँहरू टुङ्गो लगाइने थापाले जानकारी दिए। १७ गते अध्यक्ष ओली झापाबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।