धरान : धरानमा छायाङ्कन भएको फिल्म ‘ज्याकी: आइ एम ट्वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुँदैछ । अहिले फिल्म निर्माण टिम प्रचारप्रसारमा व्यस्त छन् ।
मोफसलका विभिन्न सहरहरूमा साक्षात्कार कार्यक्रम गर्दै प्रचारप्रसारलाई तीव्र बनाएका ‘ज्याकी’का टिमले शनिवार धरानमा श्रमदान गरेका छन् । फिल्मका नायक धिरज मगर, नायिका जसिता गुरुङले धरानका मेयर हर्क साम्पाङसँग भेट गरी श्रमदान गरेका हुन् । श्रमदान जस्तो सामाजिक कार्यमा सरिक हुन पाउँदा आफूहरू निकै हर्षित भएको धिरज र जसिताले बताए ।
श्रमदानपछि चलचित्र पत्रकार सङ्घ, सुनसरीको आयोजनामा ‘ज्याकी’ टिमसँग साक्षात्कार कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा ‘ज्याकी’ टिमले फिल्मको बारेमा जानकारी दिए । आइकोर फिल्म्सले निर्माण गरेको फिल्मको नाम यसअघि ‘आईएम ट्वान्टी वान’ भनिए पनि नाममा ‘ज्याकी’ थपिएको छ ।  ‘आइ एम ट्वान्टी वान मात्र राख्दा लक्षित उमेर समूहमा मात्र केन्द्रित हुने भएकाले यसलाई बदलेका हौँ,’ कलाकार प्रेम सुब्बाले भने ।
फिल्मले सपनालाई पछ्याउने तन्नेरीको कथा भन्छ । देखेको सपनालाई पूरा गर्न परिस्थितिले कसरी चुनौती खडा गर्छ भन्ने कथावस्तुमा फिल्म बनेको हो । आइकोरको अघिल्लो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’देखि अभिनय करिअर थालेका धीरजको निर्माण कम्पनीसँग दोस्रो सहकार्य हो ।
रेनशा राई राणा निर्देशित फिल्ममा  धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, सुजाता राई लगायतका कलाकारको अभिनय छ ।