धरान : साँगुरी धारापानी समाजको आयोजनामा हिजो(मंगलबार)बाट धरानमा २८ दिने ब्युटी पार्लर तालिम सुरु भएको छ ।

साँगुरी धारापानी समाजको आयोजना र धरान उपमहानगर कार्यपालिका उप प्रमुख कोषको सहयोगमा २८ दिने ब्युटी पार्लर तालिम सुरु भएको हो । उक्त तालिममा १७ महिलाहरूले सहभागी जनाएका छन् ।

नेपाली काँग्रेस धरानका नेता तथा साँगुरी धारापानी समाजका संरक्षकसमेत रहेका किशोर राईले ब्युटी पार्लर तालिम जीवन जिउने थप कार्यक्रम रहेको बताउँदै सीप सिकेपछि आत्मनिर्भरका साथै आर्थिक उपार्जनको बाटोसमेत हुने दाबी गरे ।

ब्युटीपार्लर तालिम मात्रै नभई एउटा अभियानसमेत रहेको जिकिर गर्दै उनले मुलुकको अर्थतन्त्रमा थप सानो सहयोगी भूमिका हुनेमा आफू विश्वस्त रहेको बताए । पूँजीको अभाव भएका तर सीप सिकेकाहरूलाई तालिमको प्रमाणपत्रको आधारमा व्यवसाय गर्न धरान उपमहानगरपालिकाले अवसर सिर्जना गर्नुपर्नेमा नेता राईले जोड दिए ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नं.१ का कोषाध्यक्ष सुवर्ण श्रेष्ठले सीपमूलक तालिमको सफलताको शुभकामना व्यक्त गरे ।“तालिमपश्चात् सहभागीहरूको भविष्य उज्ज्वल होस् र धेरैभन्दा धेरै आयआर्जन होस्”,उनले भने ।

साँगुरी धारापानी समाजको आयोजनामा हिजो(मंगलबार)बाट धरानमा २८ दिने ब्युटी पार्लर तालिमकी मुख्य प्रशिक्षक सुदेश्ना राईले प्रशिक्षार्थीहरुले नियमित र मिहिनेतसाथ सिक्न आग्रह गरिन् ।हरेक फिल्डमा मेकअपको आवश्यकता रहेको दाबी गर्दै उनले राम्रो भविष्य रहेको बताइन् । “फिल्म इण्डष्ट्री, फेशन सो, विवाह, पार्टी, इभेन्टहरूमा मेकअप अनिवार्य जस्तै बनेका कारण पनि यो क्षेत्रको भविष्य एकदमै राम्रो छ”, उनले भनिन्,“यो सेक्टर फास्ट ग्रोइङ इण्डष्ट्रीमै पर्छ । निरन्तरता र मिहिनेत गर्नुभएमा यसको भविष्य एकदमै राम्रो छ ।”

उक्त कार्यक्रममा अन्य अतिथिहरूले महिला सशक्तीकरण र आत्मनिर्भरता लागिसमेत ब्युटी पार्लर तालिमको महत्त्व रहेको जोड दिए ।तालिम वैशाख २६ गतेदेखि जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रमुख अतिथि अइन्द्र विक्रम बेघाको व्यस्तताका कारण अनुपस्थित भएपछि महिला अतिथिहरूबाट गमलामा रहेको बिरुवामा पानी हालेर उद्घाटन गरिएको थियो । कार्यक्रम नेपाल दलित सङ्घका अध्यक्ष गणेश परियारले सञ्चालन गरेका थिए ।