धरानको द्वन्द्व समाधान कसरी होला ? भन्ने प्रश्न आज सबै हामी धरानेहरुको चिन्ताको विषय बनेको छ । मेरो विचारमा हामीले खुट्याउन नसकेको कुरा के हो भने धरानका मेयर हर्क साम्पाङले जनसहभागितामा सञ्चालन गरिरहनु भएको कोकाह खानेपानी आयोजना मेयर साम्पाङले सञ्चालन गर्नु भएको हो कि, अभियन्ता साम्पाङले वा धरान खानेपानी बोर्डका सदस्य हर्क साम्पाङले ? 

मलाई लाग्छ यी कुराहरूमा हामी स्पष्ट हुन जरुरी हुन्छ  मेरो बिचारमा यदि अभियन्ता साम्पाङले गर्नु भएको हो भने मलाई भन्नु केही छैन । होइन मेयर साम्पाङले गर्नु भएको हो भने नगरपालिकाको नीति तथा कार्यक्रममा ल्याउनु पर्‍यो । नीति तथा कार्यक्रममा पार्न नसकिएको भए कार्यपालिका बैठक द्वारा अनुमोदन गराएर कार्यक्रम लाई नियमित गराउनु पर्‍यो ।

तर यी दुवै प्रक्रियाहरू पुरा गरेको देखिँदैन । यस्तो अवस्थामा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले असहयोग गरे भन्ने प्रचारबाजी गरेर अरूलाई विवादमा ल्याएर आफू ओभानो भएको भ्रम छर्न हाल सम्म हर्क साम्पाङ सफल देखिन्छ ।

मेयरका यी भ्रम चिर्न वडा अध्यक्षहरू हालसम्म असक्षम देखिएका छन् । यदि कार्यपालिका सदस्यहरूलाई पनि जबाफदेही बनाउने हो भने, कोकाह खानेपानी आयोजना लाई कानुनी र व्यवहारिक रूपमा नियमित गराएर सरकारी आर्थिक नियम अनुसार मात्र बैङ्क खाता खोलेर चेक र खर्च भौचर भरेर मात्र आम्दानी तथा खर्च गर्न सकिन्छ ।

यी कुनै पनि कानुनी प्रक्रिया पुरा नगरी हर्क साम्पाङ्गले आफूखुसी सञ्चालन गरिएको योजनामा कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरूलाई कसरी जबरजस्ती जबाफदेही बनाउन सकिन्छ ? त्यसैले यो आयोजनालाई पहिला ऐन नियम र कानुन अनुसार नियमित गराउन जरुरी हुन्छ ।

अन्यथा कसैलाई दोष नथोपारीकन अभियन्ता हर्क साम्पाङ द्वारा सञ्चालित आयोजना घोषणा गरी आयोजनाको सम्पूर्ण जिम्मेवारी र जबाफदेहिता आफै लिएर जानु पर्‍यो । मेरो बिचारमा कसैलाई दोषारोपण र गालीगलौज गरेर धरानको सामाजिक, राजनीतिक तथा जातीय सद्भाव भड्काएर द्वन्द्व अवस्था सृजना गर्नु सर्वथा गलत हुनेछ । कुनै पक्ष बाट पनि यस्तो हर्कत नहोस् । सम्पूर्ण नगरवासीको यही अपेक्षा रहने छ । धन्यवाद.

(मेयन्याङबो धरान उपमहानगरपालिकाका पूर्व मेयर हुन)