काठमाडौँ : कवि देवव्रतको कवितासंग्रह ' अश्वत्थामाको निधारबाट बागमती बग्छ' शनिवार सार्वजनिक भएको छ।
काठमाडौँको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले सङ्ग्रहको विमोचन गरे।
कार्यक्रममा बोल्दै कवि मुकारुङले देवव्रतको कवितामा लयविधान भएको बताए। 'पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरू छन्। त्यसमध्ये देवव्रत पुगेका छन्। यो सङ्ग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन्। कतिपय कविता पढ्दा ईर्ष्या पनि लाग्यो,' उनले भने, 'उनका प्रत्येक कविता पढ्दा सङ्गीत गुन्गुनाए जस्तो छ।'
निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको उनले बताए।'देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ,' सापकोटाले भने।
देवव्रतका कवितामा हजारौँ वर्षदेखिको पुरानो घाउ, मधेसका दलित र कर्णालीका आम मान्छेका जीवन समेटिएको बताए।
लेखक वन्दनाले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताइन्। 'उनका कविताले मृत्यु बोलेका छन् ।आत्महत्या बोलेका छन्। चरम उपभोक्तावादी समय पनि बोलेको छ । कर्णालीमा भएको अभाव बोलेको छ,' उनले भनिन्,'देवव्रतको कविताले भविष्यमा हस्तक्षेपकारी भूमिका खेल्छन्।'
कार्यक्रममा देवव्रतका शीर्ष कविता वाचन गरेका थिए। सङ्ग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो। पुस्तकको मूल्य रु.२ सय ९९ रहेको छ।