बीबीसी नेपाली
पछिल्लो समय इटहरीस्थित एभरेष्ट बैङ्कको शाखामा ग्राहकको डेढ करोड रुपैयाँ चोरी भएको घटना चर्चामा छ। तेत्तीस जना बचतकर्ताको रकम हिनामिना भएको भन्दै प्रहरीले ब्याङ्कका शाखा प्रबन्धकसहित सात जना कर्मचारीलाई पक्राउ गरेको बताइएको छ।कर्मचारीबाहेक बाँकी दुई जनामाथि पनि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
रकम हिनामिना भएको थाहा पाएपछि केही सेवाग्राहीले बैङ्कलाई खबर गरेका थिए। लगत्तै बैङ्कले प्रहरी कार्यालयमा आफ्नै कर्मचारीविरुद्ध जाहेरी दिएको बताइएको छ। “ब्याङ्कले सेवाग्राहीको रकम पूर्ति गरिसक्यो। तर ठगीको आरोप लागेका सबैमाथि अनुसन्धान जारी छ,” जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले भने।
यो घटनाबारे टिकटकलगायत सञ्जालहरूमा मिथ्या सूचना र मानहानि हुने किसिमका जानकारीसमेत प्रवाह भएको उनले बताए।
त्यस्ता सूचना फैलाउने व्यक्ति तथा फेसबुक एकाउन्टविरुद्ध साइबर अपराधमा उजुरी परेको राईले बताए।
त्यस्तै एक जना बचतकर्ताले रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित माछापुच्छ्रे बैङ्कबाट आफ्नो ९ लाख रुपैयाँ चोरी भएको पनि बताएका छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले हालसम्म प्रहरीमा जाहेरी नदिइए पनि प्रहरी र बैङ्कसँगको समन्वयमा छानबिन अगाडि बढाइएको बताएका छन्।
“औपचारिक जाहेरी नपरे पनि सार्वजनिक सूचनामा आएको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। बैङ्कलाई प्रश्न गरेका छौँ। विभिन्न बैङ्कका एटीएममार्फत् उक्त रकम निकालिएको भनिएको छ। के भएको रहेछ थप बुझ्दै छौँ,” उनले भने।
यस घटनामा बैङ्कको कर्मचारी वा अन्य जो कोहीको गल्ती देखिए सोहीअनुरूप कारबाही हुने उनले बताए। अहिले माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यालय र सम्बन्धित अधिकारीहरूबिच छलफल भइरहेको मिश्रले बताए।
यी दुई घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालहरूमा विभिन्न बैङ्कका सेवाग्राही/निक्षेपकर्ताहरूले बैङ्कमा आफ्नो रकमको सुरक्षाबारे संशय व्यक्त गरेका छन्।
घटनालाई लिएर कतिपयले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् भने कतिपयले आक्रोश पोखेका छन्। यद्यपि ब्याङ्कको निक्षेप सुरक्षाबारे चिन्तित हुन नपर्ने यस क्षेत्रका जानकारहरू बताउँछन्। बैङ्कमा राखेको निक्षेप शतप्रतिशत सुरक्षित हुने बताउँछन् नेपाल बैंर्कस सङ्घका पूर्व अध्यक्ष तथा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना ।
पछिल्लो समय प्रविधिको दुरुपयोग या ह्याक गरेर रकम चोरी हुने घटना सतहमा आएका छन्। यद्यपि त्यसरी नोक्सान भएको खण्डमा बैङ्क नै जिम्मेवार हुने उनले बताए।
“साइबर हमला वा ह्याकिङजस्तो घटनाबाट हुने नोक्सान बैङ्कले बेहोरेर निक्षेपकर्ताको रकम सुरक्षित राख्छ। त्यसैले जुनसुकै ब्याङ्कको हकमा पनि निक्षेपकर्ता डराउनुपर्ने अवस्था छैन,” उनले प्रस्ट्याए।
रकम हिनामिनाको घटनामा बैङ्क नै जिम्मेवार हुने भए पनि सेवाग्राही समेत सजग रहनुपर्ने जानकारहरू बताउँछन्।
“निक्षेपकर्ताहरूमा वित्तीय साक्षरता कम भएको देखिन्छ। ह्याकरहरूले फोन गरेर ‘तपाईँको खाता व्यवस्थापन गर्नुपर्यो खाता नम्बर कति हो, पिन वा पासवर्ड के हो’ भनेर सोध्दा केहीले खुरुखुरु भनिदिनुहुँदो रहेछ। त्यस्तो अवस्थामा उहाँहरू पनि जागरूक हुनुपर्ने देखिन्छ,” ढुङ्गानाले भने।
बैङ्कबाट कहिल्यै कसैसँग पनि पासवर्ड, पिन वा ओटीपीलगायत विवरण नमाग्ने बताइन्छ।
बैङ्कबाट चोरीको घटना सार्वजनिक हुँदा सेवाग्राहीले प्रणालीको सुरक्षामाथि प्रश्न गर्नु स्वाभाविक भए पनि “आत्तिनुको साटो सजग हुनुपर्ने” उनको सुझाव छ।
नेपालमा प्रणाली नै ह्याक हुने सम्भावना एकदमै न्यून रहेको दाबी गर्छन् नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता नारायणप्रसाद पोख्रेल।
उनका अनुसार देशमा बैङ्कहरूले “अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने प्रणाली” सञ्चालनमा ल्याएका छन्।
“हामीले बैङ्किङ प्रणाली सुरक्षित राख्न पैसामा सम्झौता गरेका छैनौँ। गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा बलियो भनिएका प्रणाली प्रयोगमा ल्याएका छौँ,” उनले थप जानकारी दिए।
त्यसैले नेपालका क, ख र ग वर्गका बैङ्कहरूले सेवाको गुणस्तर सुनिश्चित गर्न त्यस्तो प्रणालीमा जोड दिएको उनले बताए।
ह्याकिङको जोखिम कम भए पनि बेलाबखत बैङ्कबाटै रकम हिनामिना हुनुलाई उनी मानवीय त्रुटिको संज्ञा दिन्छन्।
“बैङ्कबाट रकम ठगीको घटना प्राविधिक कमजोरीका कारण नभई मानवीय त्रुटि वा योजनाबद्ध ढङ्गमा भएको पाइन्छ,” पोख्रेलले थप प्रस्ट्याए।
नेपालमा बैङ्कलगायत र अन्य वित्तीय संस्थाहरूको नियमन गर्ने राष्ट्र बैङ्क नै यस्ता घटनामाथि छानबिन गर्छ। निक्षेपकर्ताको रकम पूर्ति बैङ्ककै जिम्मेवारी हुने सह-प्रवक्ता पोख्रेलको भनाइ छ।
त्यसैले बैङ्ककै कर्मचारीको कमजोरी या मिलेमतोमा रकम हिनामिना भएको खण्डमा त्यसको असर सम्बन्धित बैङ्कलाई नै पर्ने उनी बताउँछन्।
“बैङ्किङ क्षेत्र भनेकै आम मानिसको गोपनीयता र विश्वाससँग जोडिएको विषय हो। त्यसैले उसको साख गिरेपछि कतिपय अवस्थामा बैङ्क नै नरहने अवस्था पनि आउन सक्छ,” उनले भने।
त्यस्तो हुन नदिन व्यवस्थापकीय निकायले उचित नियमन गर्नुपर्ने र बैङ्कको लेखालगायत अन्य समितिहरू सतर्क रहनुपर्ने जानकारहरू बताउँछन्।
घटनामा व्यवस्थापकीय पक्षकै कमजोरी देखिए त्यस घटनामाथि राष्ट्र बैङ्कले नियन्त्रण गर्छ र कामकारबाही अघि बढाउँछ। बैङ्कबाट ठगीको घटनाले आम मानिसको विश्वास गुम्ने, पब्लिक सेयर होल्डर प्रभावित हुने र बोर्डका सदस्यहरूलाई असर पर्ने बताइन्छ।