धरान : धरानको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा मङ्गलवार देखी तीन दिने ‘एमएमसी बिजनेस एक्स्पो २०८०’ सुरु भएको छ ।

विभिन्न स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा ५१ वटा विभिन्न स्टल राखिएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएम अध्ययनरत (छैटौँ सेमेस्टर) विद्यार्थीले आयोजना गरेको एक्स्पोको शुभारम्भ क्याम्पस प्रमुख दामोदर भण्डारीले गरे।

विद्यार्थीको उद्यमशीलता सीप अभिवृद्धि गर्न र उत्पादनलाई उपभोक्तासँग जोड्न एक्स्पो आयोजना गरिएको एक्स्पोका संयोजक निरोद्धचन्द्र दाहालले जानकारी दिए । उनका अनुसार एक्स्पोमा घरेलु तथा हस्तकला,औद्योगिक उत्पादनका, खाद्यान्नका, बैङ्क तथा वित्तीय संस्था, सूचना तथा जनचेतामूलक र खानेकुराका स्टलहरू रहेका छन् ।

एक्स्पो ज्येष्ठ ११ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन सांस्कृतिक सामग्रीसँगै सांगीतिकसत्र पनि समावेश गरिएको छ । एक्स्पोको पहिलो दिन तपस्वी ब्यान्डले प्रस्तुति दिएको छ भने दोस्रो दिन गायक पूर्ण राई र अन्तिम दिन गायक सुजन जिम्बाको प्रस्तुति रहनेछ ।

MMC-business-expo-2