सुनसरी : धरान-१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले वि.स.२०७९ कालागि ‘कवि विमल गुरुङ कृति पुरस्कार’मा सहभागी हुन कृति आव्हान गरेको छ । कवि विमल कृति पुरस्कारको राशि नगद २ लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ ।
पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार जुनसुकै विद्याका कृति मध्ये श्रेष्ठ एक कृतिलाई वि.सं २०७९ सालको विमल कृति पुरस्कार यसैबर्षको कात्तिक १९ गते हुने स्व.कवि विमलको जन्मदिनको अवसरमा आयोजित हुने ‘कवि विमल गुरुङ स्मृति राष्ट्रिय युवा कविता महोत्सव’को अवसरमा प्रदान गरिने छ।
संरक्षक अध्यक्ष गुरुङका अनुसार कृति पुरस्कारकालागि स्वदेश र नेपाल बाहिरका नेपाली भाषी लेखक साहित्यकारले धरान-१८ स्थित कवि विमल स्मृति पुस्तकालयमा चारप्रति आफ्नो कृति उपलब्ध गराउनु पर्ने छ । प्राप्त कृतिका सर्ट लिस्ट पछि निकालिने छ ।
विमल कृति पुरस्कारमा सहभागी हुन ०७९ साल भित्र प्रकाशित भएका नेपाली भाषाका कृति हुनुपर्ने अध्यक्ष गुरुङले बताए । पुरस्कार आगामी कात्तिक १९ गते कवि लेखक साहित्यकारहरूले विमल कृति पुरस्कारमा सहभागी हुन आगामी असोज अन्तिम सातासम्ममा आफ्नो कृति पुस्तकालयमा दर्ता गर्नुपर्ने छ । गतबर्षदेखि पुस्तकालयले कवि विमल कृति पुरस्कार प्रदान गर्न थालेको हो ।
कवि तथा सञ्चारकर्मी समेत रहेका विमल गुरुङ ०२८ साल कात्तिक १९ गते जन्मी ०४८ वैशाख २४ गते निधन भएपछि एक्लो छोराको स्मृतिमा पूर्व ब्रिटिस गोर्खा सैनिक बाबु पूर्णबहादुर, आमा सरस्वती र बहिनी शान्तिले धरान-१८ बुद्धचोकमा कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरेर बर्सेनि राष्ट्रिय युवा कविता महोत्सव आयोजना गर्दै आएका छन् ।
गुरुङ परिवारले पुस्तकालयमार्फत कृति पुरस्कारकालागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । ०७८ को विमल कृति पुरस्कार धरान घर भई हाल बेलायतमा रहँदै आएका पूर्व गोर्खा सैनिक समेत रहेका कवि नरेश काङ्माङको युद्ध साहित्य सिद्धान्तमा आधारित कविता कृति ‘तेप्लायु’ लाई प्रदान गरिएको थियो ।
press-bigyapti-bimal-kriti