• कृष्ण भट्टराई (बहाव)

इटहरी : सन् २०२० को व्याचलर पास म । क्यारेक्टर राम्रै भएकाले क्यारेक्टर सर्टिफिकेट पनि अहिले सम्म कसैले मागेको थिएन ।

तर, मास्टर्स पढ्न व्याचलर पढिसकेको क्यारेक्टर चाहिने भयो । डिग्री जोइन गरेको कलेजको ताकेताको म्याद सकिन लागेपछि तिनबर्षे क्यारेक्टर प्रमाणित गर्न निकाल्न नमुना कलेज गइयो ।

दुई प्रति फोटो र व्याचलर पास गरेको ट्रान्सक्रिप्ट फोटोकपी राखेर, निवेदन लेखियो, हस्तलिखित । त्यसपछि शुल्क तिर्ने पालो आयो । एकाउन्ट सेक्सन पुगियो । पैसा कति हो दिदी ? जवाफ आयो 'पाँ..च हजार।' उनले पाँच हजार भन्दै गर्दा सात्तो उडिसकेको थियो । 'यत्रो धेरै कसरी हुन्छ ?' भन्ने प्रश्नमा उत्तर आयो 'यति नै हो । तलमाथि हुँदैन ।' एकाउन्टेनलाई भनेर नहुने र छ भन्ने भयो । क्याम्पस चिफ सा'प सङ गए, गुनासो गरे तर, भएन । फेरि क्याम्पस अध्यक्षलाई भेटे । यत्रो 'फी' त हुँदैन नि सर, कसरी सक्नु हौ तिर्न ? बिन्ती बिसाए भएन ।

अनुनयले काम नगरे'सी परेको फसाद पैसाको थियो । गोजी 'जोगी' भएको थियो । क्यारेक्टर पैसा ५ हजार बोक्या थिएन । साथीलाई फोन मारे । २ हजार सापट मागेर ५ हजार पुर्‍याए । अनि दिए । त्यसपछी काम फटाफट भयो । राम्रो क्यारेक्टर भएको कलेजले लेख्यो । लोकले पत्याउने गरीको प्रमाणित गर्‍यो ।

मेरो क्यारेक्टर मापन गर्ने संस्थाले नाप्यो । संस्थाको क्यारेक्टर पनि मैले मापन गर्ने अवसर पाए, त्यति बेलै। मनमनै प्रमाणित गरे । 'जिल्ला सुनसरी इटहरी उपमहानगरमा रहेको उच्च शिक्षा अध्ययन गर्ने इटहरी नमुना कलेजको क्यारेक्टर 'क्यारेक्टरलेस' रहेको प्रमाणित गरिन्छ ।'

द्रष्टव्य : पत्रकार कृष्ण बहावले आफ्नो फेसबुकमा राखेको निजी विचार ।