धरान : कोशी प्रदेशका फुटबल रेफ्रिहरुकालागि कुनैपनि फुटबल प्रतियोगितामा निर्णायक रहँदा 'एनी ब्राण्ड'को रेफ्रि जर्सी आधिकारिक रहने सम्झौता भएको छ ।
एन्फा टेक्निकल सेन्टरमा आज शनिवार आयोजित औपचारिक कार्यक्रम बिच प्रायोजक एनी ब्राण्डका उत्पादक झापा शिवसतक्षी स्थित कन्काई गार्मेन्ट उद्योगसँग कोशी प्रदेश फुटबल रेफ्रि सङ्घको लिखित सम्झौता भएको हो ।
कार्यक्रममा एनी ब्राण्ड जर्सी उत्पादक कन्काई गार्मेन्टका कार्यकारी अधिकृत सन्तोष थोप्रा लिम्बु र कोशी प्रदेश फुटबल रेफ्रि सङ्घका अध्यक्ष मधुसुदन खनालले हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गरे ।
सम्झौता अनुसार कन्काई गार्मेन्टले प्रदेशका रेफ्रिहरुका लागि ४८० जोडी जर्सी वास्तविक भन्दा ५० प्रतिशत कम मूल्यमा प्रयोजन गर्नेछ । जर्सीको वास्तविक मूल्य भ्याट सहित ७५०रुपैयाँ जोडी रहेको छ । कम्पनीले एक वर्षका सम्झौता अवधिमा करिब ५ लाख रुपैयाँको जर्सी प्रयोजन गर्ने भएको हो ।
रेफ्रि सङ्घले फुटबलका कुनै पनि खेलमा निर्णायक रहने रेफ्रिहरुका लागि एनी ब्राण्डको जर्सी आधिकारिक बनाउनु पर्नेछ । प्रायोजन प्रदान गरिने जर्सीको सट्टा नगद भुक्तान गरिने छैन ।
फुटबलका कुनै पनि प्रतियोगितामा सम्झौता उल्लङ्घन गरी ‘एनी ब्राण्ड’ बाहेकका जर्सी लगाएको पाइएमा कम्पनीले प्रयोजन गरेको कुल रकम सम्पूर्ण नगद रुपैयाँमा फिर्ता गर्न सम्बन्धित निकायमा रेफ्रि सङ्घ विरुद्ध उजुरी गर्ने सम्झौतामा उल्लेख छ ।
अखिल नेपाल फुटबल सङ्घका मानार्थ केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईको रोहबरमा उक्त सम्झौता भएको हो । कार्यक्रममा प्रमुख अतिथि राईले भने ‘प्रदेश फुटबल सङ्घले फुटबल र खेलाडीलाई व्यवसायीक बनाउने नीति तथा कार्यक्रम अघि बढाए सँगै रेफ्रिहरुलाई पनि व्यवसायीक बनाउने दिशामा अग्रसर भएको छ ।’
उनले एनी ब्रान्डसँग भएको सम्झौताले रेफ्रिहरुलाई व्यवसायीक बनाउने प्रक्रियामा सघाउ पुर्‍याउनका साथै फुटबल खेलमा व्यवसायीक क्षेत्रका लगानीलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष राईले भने ‘नेपाली फुटबल र खेलाडीलाई बनाउन उद्योग, व्यवसायीक क्षेत्र, दर्शक र लगानीकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ ।’
प्रायोजक कन्काई गार्मेन्टमा कार्यकारी अधिकृत सन्तोष थोप्राले एनी ब्राण्ड नेपाली खेलकुद क्षेत्रको आवश्यकतालाई आवश्यक स्वदेशी ब्राण्डको स्पोर्टस पोसाकहरूको उत्पादक कम्पनी भएको बताए ।
उनले नेपाली खेलकुदको क्षेत्रमा एनी ब्राण्ड लोकप्रिय बन्दै गएको बताउँदै हाल चलिरहेको सहिद स्मारक ए डिभिजन लिगमा अगाडि रहेको ‘चर्च ब्वायज’ आधिकारिक जर्सी एनि ब्राण्ड रहेको जानकारी दिए ।
प्रदेश रेफ्रि सङ्घका अध्यक्ष मधुसुदन खनालको सभापतित्वमा भएको कार्यक्रममा रेफ्रि फिटनेस प्रशिक्षक किरण गिरिले स्वागत मन्तव्य राखेका थिए । उक्त अवसरमा प्रदेश फुटबल सङ्घका सदस्यहरू, जिल्ला फुटबल सङ्घको अध्यक्षहरू, रेफ्रिहरुको सहभागिता थियो ।
agreement-anu-brand
any-barand-agreeemant-2