धरान : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छिन् । उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो ।
रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र सङ्गीत छ । देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेकी छिन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ ।
सुदिप बरालको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन ।
एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् । ‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ स्मिताले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझैँ माया गर्नुहुन्छ भन्ने आशा छ ।’ ‘मायालु तिमी कता छौँ’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ आदि स्मिताका चर्चित गीतहरू हुन् ।