धरान : इतिहासकार भगिराज इङनामको मदन पुरस्कार प्राप्त पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’को तेस्रो संस्करण प्रकाशित भएको छ ।

उक्त पुस्तकले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । साझा प्रकाशनले पुस्तकको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । पहिलो संस्करण लेखक स्वयंले प्रकाशित गरेका थिए ।

पुस्तकमा नेपालको इतिहासमा उल्लेख भएका राजनीतिक महत्त्वका लिम्बुवान-गोर्खा राज्य बिच भएको ऐतिहासिक सम्झौता, घट्नाहरु, लालमोहरहरू सहित सामाजिक, सांस्कृतिक महत्त्वका ऐतिहासिक दस्ताबेजहरूका प्रतिलिपि, मूल लिखतहरू सङ्ग्रहित छन् । इतिहासकार इङनामले पुस्तकको तेस्रो संस्करण प्रकाशित भएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने ‘मलाई खुसी लागेको छ र अरू बाँकी कामहरू गर्न उत्साहित बनाएको छ ।’

उनले अहिले पनि लिम्बूवानका खोज्न बाँकी कैयौँ दस्ताबेजहरूको खोजीमा व्यस्त भएको बताए । हाल पाँच सय जति थप दस्ताबेजहरू सङ्कलन गरी तिनीहरूमाथि अध्ययन गरिरहेको बताए ।

भगिराज इङ्नामको यसअघि ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ र ‘लिम्बू जातिको इतिहास’ प्रकाशित छन् । उनी नेपाल सरकारका अवकाश प्राप्त सह-सचिव हुन् । प्रमुख जिल्ला अधिकारीका रूपमा उनी तत्कालीन पूर्वाञ्चल विकाश  क्षेत्रका धरै जिल्लामा प्रशासकको रूपमा रहेका थिए ।।

उनी हाल: किरात याक्थुङ चुम्लुङको स्वायत्त विभाग लिम्बुवान अध्ययन केन्द्रसँग सम्बद्ध छन् ।