• अनुसा थापा

सत्तापक्ष र विपक्ष दलका नेताहरू बिच यतिबेला प्रतिनिधि सभाका जुहारी चलिरहेको देखिन्छ । जनताको कुरा उठाउन छोडेर सांसदहरू व्यक्तिगत झगडामा मस्त छन् । कसको कर घटायो ? र कसको कर बढायो ? भन्नेतिर मात्र सांसदहरुको ध्यान छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मुलुक र जनताभन्दा पनि व्यापारी प्यारो भएको छर्लङ्ग देखिन्छ । उनी जतिबेला पनि कुन व्यापारीलाई घाटा हुने भो ? र कुनलाई फाइदा हुने हो ? भनेर संसद्मा प्रश्न उठाइरहेका हुन्छन् ।

तर, देशको अवस्था के छ ? जनताले खान पाएका छन् कि छैनन् ? यो विषयमा उनले एकरत्ति पनि चासो देखाएनन् । सदनमा जतिबेला पनि मजाक चलिरहेको हुन्छ । सार्वभौम सदन ‘कमेडी क्लब’ जस्तै देखिन्छ ।

एउटाले अर्कोलाई हिलो छ्यापेर आफू चर्चामा आउने काम सदनमा भइरहेको छ । एउटै विषयलाई एजेण्डा बनाएर एउटै व्यक्तिमाथि लागेको लाग्यै गर्छन् । जनताले किन सांसद बनाएर सदनमा पठाएको हो भन्ने कुरा नै यिनीहरुले बिर्सिएका छन् ।

सदनमा सबै सांसद आफ्नै सुरमा हुन्छन् । कोही गफिरहेका हुन्छन् त कोही सुतिरहेको । अहिलेसम्म एउटा पनि सांसदले गम्भीर भएर जनताको विषयमा बोलेको पाइँदैन । सदनमा उठाउन सांसदहरूसँग कुनै विषयवस्तु नै छैन जस्तो लाग्छ ।

राष्ट्रिय जनमोर्चाबाट सांसद बनेका चित्रबहादुर केसीले जहिले पनि संघीयता खारेज गरौँ भनिरहेका हुन्छन् । संघीयताले देशको आर्थिक अवस्था नाजुक भयो भन्ने बाहेक उनले केही गर्दैनन् । देशको अवस्था जटिल छ भन्ने थाहा छ तर सबै सांसदले हेलचेक्य्राइँ गरिरहेका छन् ।

कुनै सांसदसँग ‘म तलब लिँदिन’ भन्ने आँट छैन् । न सरकारी सेवासुविधा चाँहिदैन् भन्ने सक्ने क्षमता उनीहरूसँग छ । सदनमा २७५ जना सांसद छन् । तर, सबै ‘एउटै ढ्याङ्गको मुला’ हुन् । कसैसँग भिजन र योजना नै छैन ।

भन्नलाई सबै पढेलेखेका हुन् तर तिनीहरूसँग टेम्पुमा खलासी बस्ने क्षमता पनि छैन् । पार्टीले जे भन्छ, सांसदहरूले त्यही बोलिरहेका छन् । जनताले पार्टीको लागि बोल भनेर भोट त दिएका होइनन्, होला । आफ्नो लागि केही गरिदिएलान्, विकास होला भनेर जनताले दिनभर लाइन बसेर भोट दिएका हुन् ।

विडम्बना, सांसदहरूले यो कुरा बुझिदिएनन् । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका गोकुल बाँस्कोटा सदनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गुनगान गाइरहेका हुन्छन् । सदन ओलीको योजनाअनुसार चलेको छ ।

प्रधानमन्त्रीको कुर्सीमा अरू भएपनि ओलीले देश चलाइरहेको छन् भनेर उनी सदनमा बोल्छन् । काभ्रेको जनताले ओलीको भक्तिगान गाउन् भनेर गोकुल बाँस्कोटालाई विजयी बनाएको हो ? ओलीले सदनमा पठाएको कि काभ्रेली जनताले ? यसको जवाफ बाँस्कोटाले दिनुपर्छ ।

काभ्रेको जनताको अवस्था उनले देखेका छन् ? उनी त काभ्रेलीको अभिभावक बनेर सदनमा आएका हुन् । तर, जनताले उनलाई जिताएर पनि के पाए ? काठमाडौँ उपत्यकासँगै जोडिएको जिल्ला हो काभ्रे । यद्यपि, त्यहाँ नै ट्याक्सी पाउँदैन् ।

एक किलोमिटर यात्रा गर्न निजी प्लेटका गाडीलाई दुई हजार रुपैयाँ तिर्नुपरिरहेको छ । भनेको बेलामा गाडी नपाउँदा बिरामीहरूलाई अस्पताल पुग्नकै सास्ती छ । पाँचखाल, पनौती, बनेपालगायत काभ्रेका अधिकांश ठाउँको जग्गाजमिन प्लानिङ गरेर सकिसकेको छ ।

सबै टुक्राटुक्रा बनाएर जग्गा सकाइयो । उब्जनी हुने जग्गामा ईँट्टाभट्टा सञ्चालन भइरहेको छ । क्रसर माफियाहरूले कोशीका गिट्टीवालुवा र ढुंगाहरु धमाधम निकालिरहेका छन् । यस्तो हुँदासम्म उनले चुइक्क आवाज निकालेका छैनन् ।

जंगल सबै फडानी गरिएको छ । यहाँ पनि उनले मौनधारण गरेका छन् । सूचना तथा सञ्चारमन्त्री हुँदा उनीमाथि ७० करोड भ्रष्टाचार गरेको आरोप लाग्यो । त्यसले काभ्रेलीको शिर निँहुरियो तापनि काभ्रेलीले उनलाई नै चुनाव जिताए ।

विश्वासको आडमा काभ्रेलीले भोट दिए । अघिल्लो चुनावभन्दा बढी मत दिएर बाँस्कोटालाई सदनमा पठाइयो । सदनमा पुगेपछि देश र जनताको कुरा उठाउने कि ओलीको झोला बोक्ने, बाँस्कोटाज्यु ? अहिले काभ्रेलीको आवश्यकता के छ ? यो हेर्नुपर्दैन् ।

अस्पतालको अवस्था नाजुक छ । गरिबीका कारण जनताका छोराछोरी विद्यालय जानबाट वञ्चित छन् । उपत्यकासँगै जोडिएको जिल्ला भएपनि काभ्रेलीको अवस्था एकदम नाजुक छ । कतिपय ठाउँमा बत्ती पुग्न सकेको छैन् ।

ओली झापाबाट जितेर आएका हुन् । उनले राम्रो काम गरे ताली पाउँछन् नत्र गाली । ओलीले गरेको कामको मूल्याङ्कन गर्न जनता छन् । बाँस्कोटा जी तपाईँलाई ओली ठूलो कि मतदान गरेर सदनमा पुर्याउने जनता ठूलो ?

यसको जवाफ तपाईंले सदनमा उभिएर दिनुपर्छ । सदनमा पठाउने अधिकार जनतासँग थियो, पठाए । अब त्यसको तिरो तिर्ने पालो त बाँस्कोटाको हो । चुनाव हरेक पाँच वर्षमा आउँछ । बाँस्कोटाले के के बोलेका छन् ? के के गरेका छन् ? जनताले नियालिरहेका छन् ।

२०८४ सालमा आउने चुनावमा उनले यसको जवाफ पाउँछन् । साँच्नै नै जनताका लागि आएको हो भने सरकारी सेवासुविधा केही लिनुभएन् । सेवासुविधा छोड्ने आँट छ ? तलब लिँदिन भनेर भन्न सक्छन् ? सदनमा उभिएर विदेशी ऋण मिनाहा गर्नुपर्छ भन्न सक्ने क्षमता छ ।

खानलाई छैन् भने काभ्रेली जनता छन् । आफूले दुःख-सुःख गरेर उब्जाएको जे छ, त्यही खुवाउँछन् । तर, देश बेचेर तलब भत्ता खाने र सरकारी गाडी चढ्ने काम नगरौं । बाँस्कोटा मात्र होइन, अन्य पनि त्यस्तै देखिएका छन् ।

पार्टीको कुरा पार्टी कार्यालयमा गएर बोल्न हो, सदनमा होइन । यो सबैले स्पष्ट रूपमा बुझिराख्न जरुरी छ । सदनमा दिइएको समयको सदुपयोग होस् । एक अर्कामाथि औँला ठड्याएर केही हुनेवाला छैन र अहिलेसम्म भएको पनि छैन ।

जनताको अवस्थाबारे मनन गरर सदनमा बोलौँ । नेपालको अधिकांश जमिन छिमेकी मुलुकले कब्जा गरिसकेका छन् । सरकारले आफ्नो भूमि फिर्ता ल्याउन सकिरहेको छैन् । भएको पनि सबै घरजग्गा बनाएर सखाप पारिएको छ ।

सरकारले बजेट भाषणमार्फत जग्गाको कित्ताकाट खोलिसकेको छ । यसमा रोक लगाउन जरुरी छ । भारतले खाद्य पठाइदिएन भने नेपाली जनता भोकभोकै मर्छन् । देशको उब्जनीले धान्न सक्ने अवस्था छैन् ।

माटोभन्दा ठूलो केही हुँदैन भनेर सबैले बुझिराखौँ । माटो भएन भने कोही बाँच्न सक्दैन । हालसालै मात्र एक जना महिलाले खान नपाएर आफू पनि मरिन्, आफ्नो छोराछोरीलाई पनि मारिन् । यो मुलुककै लागि लाजमर्दो विषय हो । योबाट  त कसैले पाठ सिक ।

न सरकारी कर्मचारीमा नैतिकता देखियो न जनप्रतिनिधिमा । बाटोमा मागेर खानेहरूको संख्या ह्वात्तै बढेको छ । बेरोजगारीले सीमा नाघिसकेको छ । महँगीले आकाश छोइसकेको छ । मुलुक विदेशी ऋणको दलदलमा फसेको छ । अनि अझैपनि जनताका प्रतिनिधि भनिएकाहरू रमिता हेरेर बसेका छन् ।

सबैले आआफ्नो ठाउँबाट त्याग गर्ने हो भने देश जोगाउन सम्भव छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले केही वर्षअघि एउटा अन्तरवार्तामा भनेका थिइन्,‘मेरो बुवालाई घण्टैपिच्छे लुगा फेनुपर्छ । खानामा एकदमै सोखी हुनुहुन्छ । माछामासु नभईकन खाना खानुहुँदैन ।’

हिजो सामान्ती, शोषकीहरुको विरोध गर्ने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नै शोषकीमा गनिन्छन् । आफू टन्न खान्छन्, जनता भोकभोकै छन् भन्ने कुरा उनले देख्दैन् । कोट पाइन्ट लगाउने प्रचण्ड अहिले दाउरा सुरुवाल लगाएर हिँड्छन्, किन ?

बलजस्तै निस्किएको पेट त लुकाउनुपर्‍यो । दाउरा सुरुवाल लगाउनेहरू शोषकी सामान्ती हुन् भनेर प्रचण्डले जनयुद्धको बेलामा मार्न लगाए । अहिले आफैँ दाउरा सुरुवाल लगाउँछन् । सर्पले काचुली फेरेझैं नेताहरूले विचार र सिद्धान्त फेरेपछि देशमा कहिले विकास हुन्छ ? जनताले सुःख पाउँछन् ? विदेशी हस्तक्षेप रोकिन्छ ?