धरान : खानेपानीको अभावका कारण धरानमा आज शनिवार देखी सुरु भएको नयाँ खेल कुराँशको दोस्रो राष्ट्रिय प्रतियोगीताका सहभागी खेलाडीहरूलाई समस्या भएको छ ।
नेपालका ७ वटै प्रदेश र विभागीय ३ टिम सहित १५२ खेलाडी र अफिसियलहरु समेत २०० को सङ्ख्यामा अहिले प्रतियोगितामा भाग लिन धरान आएका छन् । उनीहरूलाई मुख धुन समेत पानीको अभाव भएको प्रतियोगीताका संयोजक जीवन राईले बताए ।
उनले भने ‘उनीहरूले नुहाउन पाइरहेका छैनन् नै उनीहरूलाई मुख धुन र ट्वाइलेट जान समेत पानीको समस्या भएको गुनासो आएको छ ।’
कुराँश सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राईका अनुसार शुक्रवार दिनभर ट्याङ्करहरू १५/२० वटालाई फोन गर्दा नभ्याउने बताए । उनले भने ‘३ दिन अघिबाट बुकिङ छ भन्छन्, हामी त छक्क पर्यौं ।’
प्रतियोगीता स्थगित गर्न पनि सयौँ खेलाडी आइसकेकाले नमिल्ने, निरन्तरता दिन पनि कभर्ड हलमा ट्वाइलेट जान समेत पानीको समस्या भएको उनले बताए । 
उनका अनुसार अन्ततः आयोजक साथीहरूको सल्लाहमा तरहराको जङ्गल देखि ३ घण्टा लाएर बोलेरो रिजर्भ गरी घर देखि ट्याङ्की उठाएर पानी ल्याएर प्रतियोगीता सञ्चालन गर्नु पर्‍यो ।
संयोजक राईले भने ‘फेसबुक, युट्युब भरी त धरानमा पानी नै पानी थियो तर कार्यक्रम स्थलमा पानी नभएकोले झन्डै कार्यक्रम सार्नु पर्‍यो ।
पानीको समस्या भएको थाहा भएको भए धरानमा प्रतियोगीता नल्याउने थियौँ भन्दै उनले पोखरामा हुने प्रतियोगिता धरानको पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको बताए ।
प्रतियोगितामा गर्न काठमाण्डौबाट आएका रामशरण सापकोटाले भने ‘पानीको अभावले प्रत्यक्ष खेलाडी टिमलाई असर पुगेको छ ।’ ट्वाइलेट जाने पनि पानी छैन ।
पानीको लागि पटक-पट्क खानेपानी बोर्डका निर्देशक राजु पोखरेललाई भन्दा ट्याङ्कर व्यस्त रहेको भन्दै पानी ट्याङ्कीले तला माथि पानी नभर्ने बताएको आयोजक समितिका सदस्य अशोक राईले सुनाए ।
तर मेयर हर्क साम्पाङलाई पाचौं पटक फोन गरेपछि बल्ल एक ट्याङ्कर पानी आएको बताउँदै उनले भने ‘त्यसपछि प्रतियोगीता चल्ने आशा पलायो ।’ पछि थप पानी आफैले तरहराबाट ल्याउनु परेका उनले बताए ।
अमर सेवा समाजका अध्यक्ष भूमि राईका अनुसार धरान-१३ अमरहाटमा यसअघि पानीको यस्तो हाहाकार नहुने बताउँदै तर यसबर्ष अमरहाट पनि हाहाकार रहेको बताए । उनले भने ‘आयोजकलाई सबै सहयोग गर्न सक्छौँ तर पानी दिन सक्दैनौँ ।’
प्रतियोगीताका सहभागी खेलाडीलाई खाना बनाउने जिम्मा लिएका बुढासुब्बा टेन्ट हाउसका सञ्चालकले समेत खानेपानीको समस्याका कारण धेरै ठाउँमा खाना बनाउने अर्डर क्यान्सिल गरेको बताउँछन् ।
धरान-१३ स्थित अमर सेवा समाजको कर्भड हलमा शनिवार बिहान दोस्रो राष्ट्रिय कुरांश प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले गरेका छन् ।
उनले भने 'धरान खेलकुदको राजधानी हो ।' धरानका जुनै खेलका खेलाडीहरूले राष्ट्रिय पदक प्राप्त गरी धरानको शान मान र ईजज्त दिलाउन सफल रहँदै आएको उनले बताए । तर खानेपानीको समस्याका बारेमा भने केही बताएनन् ।
उद्घाटन समारोहमा नेपाली काँग्रेसका नगर सभापति श्याम पोखरेल, धरान-१३ का वडा अध्यक्ष नेत्र काफलेले प्रतियोगिताको आयोजनले धरानको पर्यटन प्रवर्धन गर्ने विश्वास व्यक्त गरे । 
उद्घाटन कार्यक्रमको सभापतित्व सङ्घका कुराँश सङ्घ केन्द्रीय अध्यक्ष ध्रुवराज न्यौपानेले गरेका थिए । समारोहमा जसपा नगर अध्यक्ष ताजुव लिम्बु, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, सशस्त्र प्रहरी डिएसपी प्रेम सिग्देल, अन्तर्राष्ट्रिय कुराँश महासङ्घका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर, कुराँश सङ्घका केन्द्रीय पदाधिकारी लगायतको उपस्थिति थियो ।
प्रतियोगितामा ७ प्रदेशका १५२ जना खेलाडी, ५५ जना अफिसियल सहभागी छन् । प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस प्रदेशका खेलाडीहरू प्रतियोगितामा सहभागी छन् । ३ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहले १९ इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् ।
Kurans-game-3