इटहरी : खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । अझ बालबालिकालाई पौष्टिक खाना खाने बसाल्नु अभिभावकको दायित्व हो । बदलिएको जीवन शैली व्यस्तताका कारण हिजोआज बालबच्चाको खाने खुवाउने कुरामा अभिभावकले कमै ध्यान दिने गरेको पाइन्छ । अभिभावकहरूले ध्यान नदिएको कुरालाई संवेदनशील रूपमा लिएर इटहरी-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले बालबालिकालाई स्वस्थ्यकर खाना खुवाउन अभियान नै सञ्चालन गरेको छ ।

विद्यालयले गएको वैशाख १४ गते नयाँ शैक्षिक सत्र प्रारम्भ गरेसँगै यसबारे अभिभावक र विद्यार्थी दुवैलाई सचेतना फैलाउँदै आएको हो।

पछिल्लो डेढ महिनाको अवधिमा विद्यार्थीहरूले रोटी, हलुवा, चिउरा-तरकारी, भुटेको मकै, भुटेको भात, चाम्रे लगायत खाजाका रूपमा विद्यालयमा ल्याएर टिफिन खाने गरेका छन् । तर, कतिपय अभिभावकले भने अझै पनि पैसा दिएर पठाउने गरेका छन् ।

यो अभियानलाई सार्थक बनाउन सोमबार लायन्स/लियो क्लब अफ मनकामना इटहरीले विद्यालयका छात्रा–छात्रलाईं खाजा ल्याउने टिफिन बक्स वितरण गरेको छ । प्रधानाध्यापक सरणकुमार बस्नेतका अनुसार ४६० जना विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको हो।

उनले भने ‘कक्षा ६ सम्मका विद्यार्थीका निम्ति विद्यालयले नै दिवा खाजा सञ्चालन गर्दा ५०० जनाका निम्ति क्यान्टिन सञ्चालनमा छ ।’ कक्षा सातभन्दा माथिका विद्यार्थीका निम्ति चालु शैक्षिक सत्रदेखि टिफिनको समयमा विद्यार्थीलाई विद्यालय परिसर बाहिर जान नदिएर घरबाटै खाजा ल्याउने नियम लगाइएको प्रधानाध्यापक बस्नेतले बताए ।

बस्नेतका अनुसार टिफिनको समयमा बाहिर जान नदिने नियम लागु भएपछि विगतमा छुटपुट रूपमा नजानी नराम्रो लतमा फसेका  विद्यार्थीमा पनि सुधार आएको छ । अहिले त्यस्तो कुनै घटना भएको छैन । यसअघि टिफिनको समयमा विद्यार्थीबिच हुने छिटफुट विवादका घटनाहरू पनि बन्द भएको छ ।

नेपालीहरूको खाने बानीमा आएको परिवर्तनले मौलिक खानालाई आयातित अस्वस्थकर खानेकुराले विस्थापित गरेको सन्दर्भमा विद्यालयले अभियान थालेको हो ।

अभियानले समाजमा परिवर्तन ल्याउने ठानेर टिफिन बक्स प्रदान गरिएको लायन्स क्लब अफ ३२५ सी का डिस्ट्रिक्ट गभर्नर धिरज गुरुङले बताए । विशेषतः विद्यार्थी मार्फत जनचेतना जगाउन अभियानलाई सहयोग पुर्‍याएको उनको भनाई छ ।

इटहरी वडा १ का अध्यक्ष रतन कार्कीले बजारका खानेकुरा खाए इज्जत बढ्छ, ठुलो भइन्छ भन्ने भ्रमले जीवन शैली फेरिएको बताए । त्यसलाई चिर्न विद्यालयले थालेको अभियानले परिवर्तन ल्याउने आशा जागेको उनको भनाई छ ।

कक्षा १० का छात्रा विट्रेन कार्कीले पौष्टिक खानेकुरा छाडेर जङ्क फुड खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने अभियानले छोटो समयमै सफलता प्राप्त गरेको बताइन् ।

उनले भनिन् ‘पत्रु खानेकुराले हामी थुप्रैमा मोटोपनको सिकार मात्र भइरहेका छैनौँ, शारीरिक विकासमै असर परेको छ, ।’

विद्यालयले जङ्क फुड नियन्त्रण गर्न अभियान थालेपछि राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक-अभिभावक सङ्घका सदस्य शिक्षक भूवराज पुरीको पहलमा लायन्स मार्फत टिफिन वितरण कार्यक्रम गरिएको हो ।

पुरी लायन्स/लियो क्लब अफ मनकामना इटहरीका अध्यक्ष समेत हुन् । टिफिन वितरणसँगै क्लबले सृष्टि नेपाललाई छ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका छ । विद्यार्थीका निम्ति स्टेशनरी पनि वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।