विराटनगर : एभरेष्ट बैङ्कको इटहरीस्थित शाखामा भएको डेढ करोडभन्दा बढी रकम अपचलन मुद्दामा बैङ्ककै एक जना कर्मचारी जेल चलान भएका छन् ।

एभरेष्ट बैङ्क उदयपुरका अपरेशन मेनेजर विराटनगर–८ का ३४ वर्षीय नीरज प्रधान पुर्पक्षको लागि कारागार चलान भएका हुन् । उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले प्रधानलाई पुर्पक्षको लागि थुनामा राख्न सोमबार आदेश गरेको हो ।

एभरेष्ट बैङ्क इटहरी शाखाबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैङ्कका कर्मचारीको मिलेमतोमा घोटाला भएको थियो । यही प्रकरणमा बैङ्कका ७ जना कर्मचारी र २ जना सहयोगी पक्राउ परेका थिए ।

उच्च अदालतमा अभियोग दर्ता भएपछि सोमबार आएको थुनछेक आदेशले पैसा झिक्ने दुई जना कर्मचारीलाई जनही ७ लाख र पक्राउ परेका ६ जना कर्मचारीलाई साधारण तारेखमा छोड्न उच्च अदालत विराटनगरले आदेश गरेको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

साधारण तारेखमा रिहा हुनेहरूमा बैङ्कको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे-८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैङ्क इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैङ्कका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित, बैङ्कको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल छन्।

यस्तै धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शङ्कर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजूलाई अदालतले जनही ७/७ लाख रुपैयाँ धरौटी राख्न आदेश गरेको छ ।

सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले मुख्य योजनाकार प्रधानसहित उच्च अदालतमा शुक्रवार १३ जनाविरुद्ध बैङ्किङ कसुरमा मुद्दा दायर गरेको थियो । पक्राउ परेका ९ र फरार ४ जना गरी १३ जना विरुद्ध अभियोग दर्ता गरेको थियो । फरार रहेका चार जनाको हकमा अदालतमा उपस्थित भएको बखत अदालतले आदेश गर्नेछ ।

अभियोग पत्र अनुसार ३३ जना बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन भएको खुलेको छ । अनुसन्धानका क्रममा प्रहरीले यसअघि २०७९ चैत १२ गते एभरेष्ट बैङ्क गाईघाट शाखाका अपरेशन इन्चार्ज प्रधानलाई पक्राउ गरेको थियो ।

प्रधानमाथि केरकार गर्दा बैङ्कभित्रको सङ्गठित जालो पत्ता लागेको थियो । पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपीएस र नक्कली चेकबुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको छ ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ मा गाईघाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ ।

त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ । कर्मचारीले ३३ जना ग्राहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । आफ्नो खाताबाट रकम हराएपछि ग्राहकले बैङ्कमा जानकारी गराएका थिए । त्यसपछि बैङ्कमा हल्लीखल्ली मच्चिएको थियो । बैङ्कले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।

हाम्रोमत दैनिकबाट