काठमाडौँ : लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा ‘सिमाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता गायक करण राईको स्वरमा सार्वजनिक भएको गीतलाई देवेश राईले सङ्गीत तथा एरेञ्ज गरेका छन् । गीतकार लीला र श्रीप्रसाद माबो निर्माता रहेको गीतलाई करण राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

चर्चित म्युजिक भिडियो निर्देशक शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयम गायक करणको साथमा भ्वाईस अफ नेपालबाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय देख्न सकिन्छ ।

भ्वाईस अफ नेपाल ४ को स्टेजमा चर्चित बनेको जोडी करण र नितुको क्यामेस्ट्री जमेको छ । उनीहरू रोमान्टिक मुडमा देखिएका छन् । निर्देशक शानले सिमाना टाइटलको गीतलाई बनिरहेको म्युजिक भिडियो भन्दा फरक रूपले निर्देशन गरेका छन् । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको भिडियोमा करण र नितुले तारिफ योग्य काम गरेका छन् ।

गीतकार लीला सेलिङ् सार्वजनिक गीत ‘सिमाना’ बाट निकै आसावादी रहेकी छिन् । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लीलाले केही पुस्तकहरुपनि बजारमा ल्याइसकेकी छिन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमूलक लेखहरू लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लीलाले विभिन्न पुरस्कारहरू समेत पाएकी छिन् ।

त्यस्तै भ्वाईस विजेता बनेपछि गीत रेकर्ड र सुटिङमा व्यस्त बनिरहेका करणले भने ‘आफ्ना फ्यानहरूका लागी ‘सिमाना’ कोशेलीको रूपमा लिएको छु’ । शान द्वारा निर्देशित यस म्युजिक भिडियोमा डिओपी अर्जुन तिवारी, सिनेमाटोग्राफर बुद्ध थापा रहेको छ । सम्पादन सुप्रिम पराजुलीको रहेको छ, भने मेकअप सरिता मगरको रहेको छ ।