धरान : सङ्गीतका सौखिन धरानका मेयर हर्क साम्पाङलाई गिटार हातमा लिएर तत्काल उनले रचेका गीत गाएको टिकटकका फलोअर्सहरुले हेर्दै आएका छन्।
शुक्रवार साँझ भने मेयर साम्पाङ चुम्लुङ हिमको स्टेजमा फरक स्वाद दिए । उनले हाम्रो धर्ती हाम्रो आकाश हाम्रो परिवेश, मेरो देशको माटो बोलका देश भक्तिपूर्ण गायन प्रस्तुत गर्दा सहभागीहरू नाची रहेका थिए ।
अबेर राती सम्म चलेको सङ्गीत साँझ विश्व सङ्गीत दिवस मनाउन धरान सङ्गीत प्रतिष्ठानले आयोजना गरेको हो । दर्शक, श्रोताहरू वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ गायक दीप श्रेष्ठको कर्णप्रिय गीतहरू सुन्दै अबेर रात सम्म सङ्गीतमा रमाई रहेका थिए ।
अबेर रातमा गुन्जिएको दीप श्रेष्ठको सदाबहार गीत ‘बितेका कुराले धेरै दुःख लाग्छ’ले सहभागीहरू मन्त्रमुग्ध भएका देखिन्थे ।
लोचन भट्टराईका लोकप्रिय गीत ‘टाढा टाढा नभइदेऊ तिमी, मलाई छोडी’ बोलको गीतको लाइभ सुनेर श्रोताहरू रोमाञ्चित भएका थिए । उनले खोटाङ जिल्ला दिक्तेल बजार बोलको गीत पनि गाइन् ।
युवा गायक दीपक दर्नालको ‘म त लालीगुराँस भएछु’, भीषण अधिकारीको ‘हजार बाटो छेकी मेरी मायालु लाई’ बोलका गीतले मन्त्रमुग्ध भएको देखिन्थे ।
विश्व सङ्गीत दिवस साँझमा राष्ट्रिय कलाकारहरू मेरिना राई, कृष्णराजा श्रेष्ठ, भुमा अधिकारी, अजय राई, रमेश राई समेतका प्रस्तुति अबेर रात सम्म चल्यो ।
गीत, सङ्गीतको रमझमका बिच धरानकी चेली वरिष्ठ गायिका लोचन भट्टराईलाई धरान सङ्गीत प्रतिष्ठानले अभिनन्दन गर्यो । उनले बढो मार्मिक भाषामा धरानमा आफू हुर्किएको कथा पनि सुनाइन् ।
सोही अवसरमा वरिष्ठ गीतकार श्याम तमोट र गायिका हर्षु राईलाई सङ्गीत प्रतिष्ठानले अभिनन्दन तथा सम्मान प्रदान गरेको थियो ।
अभिनन्दित एवं सम्मानित गीत, सङ्गीतका धरोहरहरूलाई प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वरिष्ठ गायक दीप श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष वडा २ का अध्यक्ष रमेश राईले अभिनन्दन, सम्मान-पत्र प्रदान गरेका थिए ।
प्रमुख अतिथि मेयर साम्पाङले धरानमा गीत, सङ्गीतको क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण सहयोग स्थानिय सरकार धरान उपमहानगरपालिकाबाट गरिने प्रतिबद्धता बताए । उनले वाद्य, वादन धरानमै उत्पादन गर्न प्रतिष्ठानलाई सुझाव दिए ।
२०७० सालमा स्थापना भएको धरान सङ्गीत प्रतिष्ठानले बर्षेनी विश्व सङ्गीत दिवसको अवसरमा धरानमा लाइभ साङ्गीतिक कार्यक्रम गर्दै आएको छ । यसपाली विश्व सङ्गीत दिवस असार ६ गते परेता पनि तयारीको क्रममा शुक्रवार साङ्गीतिक प्रस्तुति सहित मनाइएको हो ।
tamot-samman