इटहरी : इटहरी अस्पतालमा डायलाइसिस मेसिन जडान भएको छ । रोटरी क्लब अफ इटहरीले इटहरी उपमहानगरपालिकालाई  मेसिन हस्तान्तरण गरेको हो ।

लामो समयदेखि अलमल हुँदै आएको मेसिन जडान प्रक्रिया पुरा भएपछि सोमबार रोटरी क्लबले हस्तान्तर गरेको छ ।

शिक्षा तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको रोटरीले इटहरीमा अत्यावश्यक रहेको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने प्रयास थालेको हो ।

वर्ष २०१९/२० को कार्यसमितिले सुरु गरेको डायलाइसिस मेसिन हस्तान्तरण प्रक्रिया बल्ल पुरा भएको छ । इटहरी अस्पतालमा मेसिन जडान भएसँगै विराटनगर र धरान जानुपर्ने बाध्यता हट्ने भएको छ ।

पूर्व मेयर द्वारिकालाल चौधरीको सहयोग र हालका मेयर हेमकर्ण पौडेलले कुनै समस्या आए आफै सामना गर्ने बाचा दिएको कारण मेसिन जडान सफल भएको रोटरी क्लब इटहरीका सचिव चेतन धमलाले बताए ।

सुरुवातमा प्राविधिक जनशक्तिको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहयोग लिने मौखिक सम्झौता भएको उनले जानकारी दिए ।

प्रतिष्ठानका उपकुलपतिले सकारात्मक प्रतिक्रिया दिएको कारण केही दिनमै मेसिन सञ्चालनमा आउने उनको भनाइ छ । ६७ लाखको लागतमा ३ वटा मेसिन खरिद गरिएको हो । 

इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कृष्ण मण्डलले मेसिन जडान भएकोमा खुसी व्यक्त गरे । मेसिनको प्रभावकारी सञ्चालनको लागि सक्दो मेहनत गर्ने प्रतिबद्धता जनाए ।

डायलाइसिसका बिरामी गम्भीर अवस्थामा अस्पताल आउने भएकाले अब आइसियु र भेन्टिलेटरको सेवा सुरु गर्नुपर्ने बताए । आइसियु र भेन्टिलेटर सेवा आगामी भदौ देखी सञ्चालनमा ल्याउने गरि तयारी भएको उनको भनाइ छ । 

इटहरी उपमहानगरपालिकाले आगामी वर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रममा पनि डायलाइसिस सेवा सञ्चालन गर्ने उल्लेख गरेको छ । डायलाइसिस सहित आइसियु र भेन्टिलेटर सेवा प्रदान गर्ने उपमहानगरको कार्यक्रममा उल्लेख गरिएको छ ।