धनकुटा : कवि जुनू घिमिरेको कविता कृति पसिनाको घरको धनकुटामा लोकार्पण गरिएको छ । सल्लेरी साहित्य सङ्गमको आयोजना र ज्येष्ठ नागरिक सङ्घ धनकुटा नगरपालिका ७ समितिको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।
पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार तथा खोज अनुसन्धानकर्ता टिकाप्रसाद घिमिरे, साहित्यकार डा. यज्ञप्रसाद गुरागाईँ, शिक्षाविद् दामोदर दाहाल, सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारी, गर्गाचार्य विश्व भाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, ज्येष्ठ नागरिक सङ्घ धनकुटा ७ समितिका अध्यक्ष बुद्धिकान्त घिमिरे, ज्येष्ठ नागरिक टिकाप्रसाद घिमिरे, कवि घिमिरेकी आमा विमला लगायतले संयुक्त रूपमा गरेका थिए ।
धनकुटा ६ आत्मारा माइती र कर्मथलो भक्तपुरको दुवाकोटमा रहेकी घिमिरेले आफ्नो पहिलो कृति सार्वजनिक गरेकी हुन् । प्रकृति, संस्कृति, मानवीय जीवन र रहस्य, कर्तव्यप्रतिको सचेतता, राष्ट्र प्रेम, व्यङ्ग, नारी अस्तित्व, युगानुकूल मानवीय चेतना, र व्यवहार लगायत पक्षका कविता उनका सङ्ग्रहमा सङ्गृहीत छ ।
कृतिकारको व्यक्तित्व र कृतिबारे डा. यज्ञप्रसाद गुरागाईँले प्रकाश पारेका थिए । कविहरू घनश्याम बराल, रमेशचन्द्र अधिकारी, मुकुन्द प्रयास, देवकला कार्की, निर्मला कु“वर लगायतले सङ्ग्रह भित्रका कविता वाचन गरेका थिए ।
यस्तै, मकालु साहित्य समाज सङ्खुवासभाका अध्यक्ष ताराबहादुर बुढाथोकी र प्रगतिशील लेखक सङ्घका प्रदेश उपाध्यक्ष राजेन्द्र सर्वहाराले पनि कविता र असारे भाकाका गीत प्रस्तुत गरेका थिए ।
पहिलो कृतिले आफूलाई साहित्य सृजनाको भोक जगाएको कृतिकार घिमिरेले बताइन् । विद्यालय पढ्दादेखि थालनी गरेको कविता लेखनले निरन्तरता पाएको उनको भनाई थियो । कविता लेखनमा माता विमला र स्वर्गीय पिता छत्रप्रसाद प्रेरणाको स्रोत रहेको जनाइन् ।
पुस्तकको आवरण चित्र कलाकार उमेशचन्द्र अधिकारीले बनाएका छन् भने, जुपिटर प्रिन्टिङ एण्ड पब्लिसिङ् हाउस प्रा.ली.ले प्रकाशन गरेको छ। लोकार्पण कार्यक्रमको अध्यक्षता आयोजक सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीले गरेका थिए ।