धरान : विजयपुर जाने सिंहदेवी चौक माथि उकालो धरान-१४ स्थित गोपाल मन्दिर सामुन्ने पूर्व स्वीकृति नलिई नयाँ चर्च निर्माण गरिएकोमा विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले आपत्ति जनाएको छ ।

स्रेस्ता अनुसार उक्त जग्गा भीमकला राईको नाममा छ । उनले आवासीय प्रयोजनको लागि निजी भवन बनाउन २ थान रुख कटानको सिफारिस माग गरेको देखिन्छ ।

वडा कार्यालय धरान–१४ अनुसार त्यहाँ चर्च निर्माणको अनुमतिको लागि निवेदन दिएको, सिफारिस माग गरेको भने देखिन्न ।

सडकको पश्चिम पट्टि मन्दिर र पूर्व तर्फ चर्च बनेकोमा त्यसले धार्मिक सहिष्णुतामा असर पर्ने उल्लेख गर्दै समिति स्थानिय सरकार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन गएको टोलीलाई मेयर साम्पाङले चर्च बनेको कुराका बारेमा आफू ‘अनभिज्ञ रहेको’ बताएको कुरा मेयरलाई उद्धृत गर्दै समितिका अध्यक्ष जुद्धबहादुर लोहनीले जानकारी दिए ।

उनका अनुसार मेयरले धार्मिक विषय अत्यन्तै संवेदनशील विषय रहेको भन्दै एकतर्फी कुरा सुनेर मात्र बोल्न नमिल्ने भएकाले ‘नगर सभापछि दुवै पक्षलाई राखेर छलफल गर्ने’ बताएका छन् ।

उपमेयर अइन्द्र विक्रम बेघाले भवन बनेको देखे पनि आफू उक्त विषयमा जानकार नभएको बताए । उनले भने ‘सुरुमा त्यो जमिनमा झाडी मात्रै थियो, भवन बनेपछि मात्रै चर्च बनेको रहेछ भनेर बुझेँ ।’

धार्मिक सहिष्णुता कायम राख्न यस विषयमा विस्तृत रूपमा बुझेर अगाडि बढ्ने उपमेयरले आश्वासन दिएका अध्यक्ष लोहनीले बताए ।

समितिले चर्च निर्माणका विषयमा कुनै आपत्ति नरहेको तर मन्दिरकै सामुन्ने चर्च निर्माणले धार्मिक सद्भावमा असर पर्ने उल्लेख गर्दै ज्ञापन पत्रमा चर्च स्थानान्तरणको माग गरेको छ ।

dharan-church-2