धरान : धरान-१५ का चन्द्रबहादुर खापुङ र लोकबहादुर खापुङद्वारा सञ्चालित श्रेय बचत तथा सहकारी संस्थाका बचतकर्ताहरूले शुक्रवार पाथीभरा लाइन स्थित खापुङको घर घेराउ गरेका छन् ।

उक्त सहकारीमा ६ सय जना मध्ये हाल सम्पर्कका रहेका १०६ जना बचतकर्ताको जम्मा १८ करोड ३६ लाख ४० हजार ३ सय ५९ रुपैयाँ बचत छ । उनीहरूले सङ्घर्ष समिति गठन गरी उक्त रकम फिर्ता माग्दा सञ्चालक बाबु छोरा नै फरार भएका छन् । चन्द्रबहादुर बाबु र लोक खापुङ छोरा हुन् ।

सङ्घर्ष समिति समितिका संयोजक देवकुमार राईको नेतृत्वमा आज गरिएको खापुङहरुको घर घेराउमा फरार सञ्चालन पक्राउ गर, भ्रष्ट सञ्चालकलाई कार्यवाही गर, नेपाल सरकार पीडितलाई न्याय दे, हाम्रो बचत रकम फिर्ता गर जस्ता प्लेकार्ड प्रदर्शन सहित बचतकर्ताले नाराबाजी गरेका हुन् ।

संयोजक राईका अनुसार बचतकर्ताको करोडौँ रकम हिनामिना गरी फरार भएका छोरा लोक खापुङ अहिले काठमाडौँमा लुकेर बसेका छन् । बाउ चन्द्र खापुङ युके पुगेको खबर आएको छ ।

बचतकर्ताको रकम फिर्ताका लागि धरान उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन दर्ता गराए पछि न्यायिक समितिका अध्यक्ष उपमेयर आईन्द्र विक्रम बेघाले पटक पटक सञ्चालकद्वय सँग सम्पर्क गरेका थिए ।

२०७९ भदौ १० गते उपमेयर बेघाको मध्यस्थतामा सङ्घर्ष समिति र सञ्चालक समितिबिच भएको वार्तामा ‘भदौ १५ गते सम्म धरान उपमहानगरपालिकालाई सम्पत्ति विवरण बुझाई, चैत २५ गते सम्म सम्पूर्ण बचतकर्ताको रकम फिर्ता गर्ने’ लिखित सहमति भएको थियो ।

तर सञ्चालक समितिले २५ गते सम्म सम्पत्ति विवरण नबुझाएको र पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा नआएकाले उपमेयर, न्यायिक समिति अध्यक्ष बेघाले इलाका प्रहरीमा उजुरी दिन सुझाव दिएको संयोजक राईले बताए ।

उनका अनुसार सम्पर्कमा रहेका १०६ जनाको समितिले २०७९ पुस १८ गते प्रहरीमा जाहेरी दर्ता गरायो । जाहेरी ३ महिना सम्म मुल्तबीमा राखेर सञ्चालक लोकबहादुरलाई फरार सुचीमा राख्दै २०७९ चैत १६ गते सुनसरी जिल्ला अदालतमा मुद्दाको प्रक्रिया सुरु गरिएको थियो ।

अदालतले वैशाख २७ गते ३५ दिने सूचना र फेरी १५ दिने सूचना टाँस गर्दा समेत हाजिर नभएको सङ्घर्ष समिति संयोजक राईले बताए । उनले भने ‘अदालतमा मुद्दा विचाराधीन रहेको भए पनि बचतकर्ताबाट सञ्चालकलाई खबरदारी गर्न नारा जुलुस गरिएको हो ।’

विचाराधीन मुद्दाको कारण प्रहरीले सञ्चालक पक्राउ नगर्दा खापुङ भागेर युके गएको र छोरा पनि काठमाण्डौंमा लुकेर बसेको उनले बताए । उनका अनुसार लोक खापुङ बेला बेला धरान दार्जिलिङ आउने जाने बस्ने गरेका छन ।

संयोजक राईले भने ‘तर प्रहरीले पक्राउ नगरेकाले बचतकर्ताको पैसा हिनामिना गर्नेहरूलाई हौसला भएको छ ।’ खापुङ परिवारले बचतकर्तालाई ६ महिना बढी अवधि पैसा राख्दा १८ प्रतिशत व्याज दिन्थ्यो । त्यो भन्दा कम समय र चालु खातामा राख्दा १६ प्रतिशत ब्याज दिने गरेको उनले बताए ।

२०७७ साल असोजपछि व्याज ८ प्रतिशतमा झारेको थियो । २०७६ सालदेखि नै श्रेय सहकारीले बचतकर्ताहरूको पैसा फिर्ता गर्न छोडेको थियो । सञ्चालक खापुङसँग कुरा गर्दा १ अर्ब बढी पैसा फिर्ता गर्नुपर्ने भएकाले तत्काल सम्भव नभएको बताउने गरेका थिए ।

खुपाङको सहकारीमा अहिले सम्म थाहा पाइएकामा धरान-१५ का राम बहादुर तामाङको ८६ लाख रुपैयाँ बचतकर्ताहरू मध्येकै सबैभन्दा बढी रकम डुबेको छ । उनले भने ‘ब्याजको लोभमा ठुलो रकम राखियो अहिले फिर्ता भएन ।’

धरान-१५ का मान बहादुर लिम्बुले २०७३ सालमै इटहरीको जग्गा बेचेर बुढेसकालमा ब्याजले उपचार गर्ने लोभमा साँढे ५६ लाख रुपैयाँ राखेको बताए । उनले भने ‘अहिले औषधि खाने पैसा पनि छैन ।’

२०७२ साल देखि बचत गर्दैआइरहेकी कृष्ण कुमारी राईले नगद ५ लाख रुपैयाँ राखेकी थिइन । उनी भन्छिन् ‘व्याजको लोभमा राखेको अहिले सावा पनि हुसिने डर लाग्दैछ ।’

सञ्चालक चन्द्र खापुङ पूर्वब्रिटिस आर्मी भएकाले श्रेयमा अधिकांश भूपू लाहुरे परिवारको बचत रहेको छ । खापुङ परिवारले रेमिटेन्स सञ्चालन र सुनचाँदी व्यवसायको कारोबार गर्दै आएको थियो ।

उक्त कारोबारमा पैसा राख्न र झिक्न सजिलो हुने भन्दै भूपू लाहुरे परिवारले विश्वास गरेर बचतको कारोबार गरेका थिए । कारोबार धेरै भएपछि सहकारी नीति अनुसार २०६८ सालमा सहकारी दर्ता गरिएको हो ।

खापुङ परिवारले विष्णुपादुकामा गाईपालन फर्म खोलेका थिए । इजी राइडर्स कम्पनी होटेल इजी राईडर, धराने पिउने पानी पनि बजारमा ल्याएका थिए । उनीहरूको लगानी ढुङ्गा खानीमा पनि थियो । खापुङ परिवारको जग्गा व्यापारमा ठुलो लगानी थियो । तर ९० प्रतिशत जग्गा बैङ्क र सङ्घर्ष समितिले समेत रोक्का गरेको छ ।

shreya-saharki-3shreya-khapung