इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदान अभियान अहिले ओझेलमा परेको छ । धराने जनतालाई खानेपानी खुवाउने, लागुऔषध दुर्व्यसन न्यूनीकरणका कुराको चर्चा पनि सुषुप्त छ ।

पछिल्लो समय गोपाल मन्दिरको सामुन्ने चर्च निर्माण र आइतबार मात्र भेडेटार नजिक देवी थान स्थित प्याराग्लाइडिङ उडान स्थलको निजी जग्गामा वृक्षारोपण अत्यधिक चर्चामा छ ।

पर्यटन व्यवसायी रोशन अधिकारीको निजी जमिनमा वृक्षारोपण गरेपछि सुरु भएको विवादलाई आफ्नो पक्षमा पार्न मेयर साम्पाङ लागि परेका छन् । नगर प्रहरी र समर्थक परिचालन गरेर उनले वृक्षारोपण गरे ।

त्यसको बचाउमा उनले लेखेका छन्, ‘भोलि भानुचौक पनि मेरो भन्दै धनीपूर्जा देखाउँदै कोही आउँछ भने धरानवासीले मुखमा बुच्चो लाएर बस्छन् कि ? के गर्छन् त ?’

dhanipurja 1पूर्व वडाध्यक्ष समेत रहेका अधिकारीलाई उनले ‘वडाध्यक्ष जस्तो जनताको प्रतिनिधि बनिसकेको व्यक्तिले पानीको मुहान क्षेत्रमा जग्गा कब्जा गरेर बस्नु भनेको के हो ? धराने हो... आउँदा दिनमा होस् पुराएर भोट लाउनु ।’

रोशनकी श्रीमती रोजिना अधिकारीको नाममा रहेको जग्गाका बारेमा साम्पाङले लेखेका छन् ‘कानुनी फन्डा देखाएर झुटा प्रमाण पेश गरेर जनताको साझा सम्पदा हडप्न चाहनेहरूलाई जनताले छाड्ने छैनन् ।’

सामाजिक सञ्जालको लोकप्रियताले उनलाई हरेक कुरामा उक्साउने गरेको छ । पछिल्लो समय धराने जनतामा मेयरका हर्कतको आलोचना सुरु भएको छ । जसले गर्दा धराने जनता बिच विवाद र विभाजन हुने खतरा बढ्दै गएको छ ।

बाल गोपाल मन्दिर अगाडी निर्माण भएको चर्चका विषयमा मेयर साम्पाङका अभिव्यक्तिले पनि धरान विभाजनमा मलजल पुर्‍याएको छ । सामाजिक सञ्जालमा गरेका कमेन्ट हेर्दै उनले भनेका छन्, ‘कुन जाति समुदाय गाली गर्दै नीच हर्कत गर्न उत्रँदो रै छ म गन्दै छु । बेला आए पछि आउनेछ मेरो अभिव्यक्ति ।’

बाल गोपाल मन्दिरको पक्षमा आन्दोलनरत हिन्दु धर्मावलम्बी प्रति इङ्गित गर्दै उनले अतिवादीहरूले गर्दा हिन्दु धर्म सिद्धिन लागेको बताएका छन् । हिन्दुको विरुद्धमा बोल्न बाध्य नबनाउन चेतावनी दिएका साम्पाङले ‘अहिले सम्म सामाजिक सञ्जालमा हारेको रेकर्ड छैन है यो फुच्चे केटाको । बिचार चोंगे,’ भन्ने अभिव्यक्ति दिएका छन् ।

यसले हिन्दु धर्मावलम्बीलाई संशय पैदा गराएको छ । हिन्दु धर्मगुरु श्रीनिवाशाचार्यले हर्क साम्पाङ क्रिश्चियन भएको बताएका छन् । चर्चको निर्माण सँगै साम्पाङको विगतका स्ट्याटस बाहिर आएका छन् । जसले साम्पाङ क्रिश्चियन समर्थक भएको देखाउँछ ।

धार्मिक आस्था उनको व्यक्तिगत मामला भए पनि हिन्दु प्रतिको आक्रोशले सामाजिक सद्भाव भड्काउने खतरा सङ्केत गरेको छ । तर्क र बहसमा कसैले नसक्ने बताउने साम्पाङ धर्मको कुरा गर्नेहरू राजावादीहरू हुन् भन्ने आरोप लगाएका छन् ।

चर्चको पक्षमा बोल्दै मेयर साम्पाङले सिङ्गल सिङ्गल फाइट खेल्न चुनौती दिएका छन् । फेसबुकमा खुट्टा उफारेको भिडियो अपलोड गर्दै उनले भौतिक आक्रमणलाई प्रशय दिइरहेका छन् ।

सामाजिक सञ्जाललाई सामाजिक विभाजनको लागि प्रयोग गरिरहेका छन् उनी । समर्थनमा नआउनेहरू राजनीतिक पार्टीका झोले हुन् भन्ने उनको आरोप छ । त्यति मात्र हैन हिन्दुको पक्षमा कमेन्ट गर्ने माथि व्यक्तिगत रूपमै जाइलाग्छन् उनी ।

टिकटकमा प्रकाश पाठक लेखेका व्यक्ती लाई उनले भनेका छन्, ‘नामै पाठक छ यसले पाश्चर नभनेर के भन्छ’ भन्दै जातीय सम्बोधन गरेका छन् । त्यति मात्र हैन अर्का रोकाय थरका युवालाई पनि ‘नामै रोकाया छ तेल्ले मलाई नभनेर के भन्छ त । जात नजनाऊँ है’ भन्दै गाली गर्छन् ।

साम्पाङका विभाजनकारी व्यवहार प्रति डा. राजेन्द्र शर्माले आलोचनात्मक विचार राख्छन् । उनी भन्छन्, ‘हर्क साम्पाङको लगनशीलता प्रशंसा गर्न लायक छन् । तर वहाँ सँग कूटनैतिक ज्ञानको अभाव छ । मर्यादा भन्दा तल झरेर टिप्पणी गर्नुहुन्छ । सामाजिक विद्धवेश फैल्याउने काम गर्न खोज्नु भएको छ ।’

जाती र समुदायलाई जोडेर कमेन्ट गर्ने लगायत कुराले मेयरको गरिमा कमजोर भएको उनले बताए । मेयरले आफ्नो मर्यादा बिर्सिँदा कालान्तरमा धरान गम्भीर समस्यामा पर्ने उनको धारणा छ । उनले भने ‘वहाँको विरुद्धमा कसैले बोल्यो भने विरोधी ठान्ने प्रवृत्ति छ । धरानको इज्जत गिराउने काम भइरहेको छ,।’

पूर्व मेयर मनोज कुमार मेन्याङबो बाल गोपाल मन्दिर र नवनिर्मित चर्चको विवादले धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काएर धराने जनता विभाजित हुनसक्ने आशङ्का व्यक्त गर्छन् । धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न मेयर साम्पाङले आफ्नो दायित्व पुरा गर्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा बारम्बार आउने अभिव्यक्तिले सन्तुलित र मर्यादित नदेखिएको बताउँदै उनले मेयर साम्पाङ पटक पटक विवादमा आएको बताए । संवेदनशील विषयमा भावावेशमा आएर बोल्ने र लेख्ने काम लाई कम गर्न अनुरोध गरेका छन् ।

तर मेयर हर्क सम्पाङको शक्तिको श्रोत भनेको सामाजिक सञ्जाल हो । उनले भन्ने गरेका छन्, ‘सामाजिक सञ्जालमा मलाई कसैले सक्दैन । सामाजिक सञ्जालमा हारेको रेकर्ड छैन । चुनाव नै सामाजिक सञ्जाल बाट जितेको हो ।’ सामाजिक सञ्जालले अहिलेको कुरामा पनि हर्क साम्पाङलाई नै जिताउला त ?