विराटनगर : विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर-३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो ।
आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ ।
नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् ।
‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शो का माध्यमबाट सबैमाझ देखाउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौँ,’ सञ्चालक कटेलले भनिन् ।
फेसन शो का लागि २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू छनौट गरिएको छ । तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर उनीहरू र्‍यापमा उत्रनेछन् ।
रनवेमा गरिने प्रदर्शनीका लागि साउनको पहिलो सातादेखि नै मोडेलहरू अभ्यासमा जुटिरहेका छन् । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजङ्घा ब्याङ्क्वेटमा फेसन शो गर्ने तयारी भइरहेको छ । कार्यक्रमलाई सफल पार्न स्टुडियोका सञ्चालक बनिसाको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरिएको छ ।
कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरू पनि तनस्काको पहिरन लगाएर प्रदर्शनीमा उत्रने फेसन शो का प्रचारप्रसार समिति संयोजक रविन कटेलले जानकारी दिए ।
भारतको कोलकतास्थित नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो भएको दाबी गरिएको छ ।
सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउने गरेका छन् । सीटीईभीटीबाट मान्यता प्राप्त सो इन्स्टिच्युटले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ ।