धरान : सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डरमा १३० रुपैयाँ घटाएको छ भने पेट्रोल, डिजेल, मट्टितेलको मूल्य बढाएको छ ।
मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको र ग्यासको घटाएको हो।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ७ रुपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रुपैयाँ घटाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ १४ पैसा र डिजेलमा ६ रुपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर ११७ रुपैयाँ ६२ पैसा घटाएर पठाएको छ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि (२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५० रुपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रुपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५२ रुपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७३ रुपैयाँ प्रतिलिटर पर्नेछ।
त्यस्तै डिजेल र मट्टितेल १५३ रुपैयाँ पर्नेछ। ग्यासको भाउ घटेर एक हजार ६ सय ६० रुपैयाँ कायम भएको छ।