विराटनगर : इतिहासमा विराटनगरलाई पूर्वको शैक्षिक केन्द्रको रूपमा स्थापित गर्ने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले मङ्गलवार ६९ औँ स्थापना दिवस मनाएको छ । मुलुकको नेतृत्व तहका अगुवाहरू तयार गरेको क्याम्पस २०१२ सालमा स्थापना भएको हो ।

स्थापना दिवस समारोहमा प्रमुख अतिथि लोकसेवाका पूर्व सदस्य प्राडा कृष्ण पोखरेलले विश्वविद्यालयको पढाइमा गुणस्तरीय भएमा  युवाहरूले पढ्नका लागि विदेश जान नपर्ने बताए । उनले भने ‘सरकारले सहज रोजगारीको व्यवस्था गरे रोजगारीका लागि पनि विदेशिनु पर्दैन ।’

प्राडा पोखरेलले मोरङ क्याम्पसमै आफूले पनि पढेको स्मरण सुनाउँदै आफू पढेको क्याम्पसमा पढाउने अवसर पनि पाउनु पढेपछि अवसर पाउने उदाहरण भएको उल्लेख गरे ।

सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेलले महेन्द्र मोरङ क्याम्पसको इतिहासका बारेमा प्रकाश पार्दै महेन्द्र मोरङ क्याम्पसका इतिहास शैक्षिक विकाससँगै होइन विद्यार्थी आन्दोलन र नेपालको परिवर्तनहरूसँग पनि गाँसिएको बताए ।

स्थापना दिवसको अवसरमा क्याम्पसले उत्कृष्ट ३ प्राध्यापक र २ कर्मचारीलाई सम्मानित गरेको छ । सम्मानित हुने प्राध्यापक त्रयमा  यामनाथ पौडेल, डा. शशितकुमार यादव र विजयहरि खतिवडा छन् । कर्मचारीद्वय अनिल कर्ण र दामोदर कोइराला पनि सम्मानित गरिएको हो ।

उनीहरूलाई निष्ठापूर्वक जिम्मेवारी पूरा गरेकोमा सम्मानित गरिएको क्याम्पस प्रमुख डा बाबुराम तिमिल्सिनाले बताए ।

छनोट समितिका सदस्य डा मोहन सुवेदीले क्याम्पसको विकास र प्राज्ञिक उन्नयनको लागि प्राध्यापक र कर्मचारी सबैको भूमिका महत्त्वपूर्ण भएको बताए । स्ववियू सभापति जसवन्त पौडेलले क्याम्पसको वार्षिकोत्सव विद्यार्थीका लागि पनि हुनु पर्नेमा जोड दिए ।

सम्मानित प्राध्यापक यामनाथ पौडेलले सम्मानले सम्मानित हुने सबैमा जिम्मेवारी अझ बढेको महसुस भएको बताए ।