धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले मिलेनियम सभाहलमा स्थापना गरिएको डेंगु उपचार शिविरमा आज बिहान देखी ज्वरो आएका, डेंगु देखिएका बिरामीहरू दर्ता गर्न थालिएको छ ।

अविरल वर्षा भैरहेपनि ज्वरो आएका बिरामी चेक जाँच गर्न आइरहेकोले डेंगुमा प्रभाव न्यून नभएको सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । वर्षाका बिच बिहान ९ बजे बिरामी दर्ता सुरु गरिए लगत्तै  शिविरमा डेंगु भएका धरान-१६ का एक युवालाई भर्ना गरियो ।

सुविधाजनक शिविरका लागि उद्योग वाणिज्य सङ्घ धरानका ७ वटा वडाहरूले सहकार्य गरेका छन् । धरान वडा १, २, ३, ७, ९, १२ र १६ ले शिविरमा सहकार्य गरेका हुन् । बिहानै देखी वडा अध्यक्षहरू शिविरमा क्रियाशील देखिए ।

वडा ९ का अध्यक्ष रुपेश आचार्यले भने ‘वडामा ज्वरो आएका, डेंगुका आशङ्का भएका बिरामीहरूलाई शिविरमा ल्याउने वडाको घरघरमा प्रचार पुर्याउने छौँ ।’

शिविरमा वीपी प्रतिष्ठानका १ डाक्टर ४ नर्स खटिएका छन् । केएचडिसीका ४ जना प्राविधिक, चिकित्सकहरू शिविरमा संलग्न छन् । सातै वडा कार्यालयले वडाका स्वास्थ्य स्वयं सेविकाहरू शिविरमा खटाएका छन् ।

उद्योग वाणिज्य सङ्घले उसको एसी सहितको मिलेनियम सभाहललाई डेंगु शिविरमा परिणत गरेको हो । हलमा डेंगुका बिरामीहरूको लागि हाल २० बेडको व्यवस्था गरिएको छ । आवश्यक परे ३० बेडसम्म पुर्याउने पूर्व तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

डेंगु उपचार शिविर कोसी प्रदेश सरकार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान उपमहानगरपालिका र केएचडिसी संस्थाको सहयोगमा स्थापना गरिएको हो ।

शिविरको निगरानी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. सञ्जीव शर्माले गर्नेछन् । उनले शिविरमा आउने डेंगुका बिरामीहरूको अवस्थालाई स्वास्थ्यकर्मीबाट तिन श्रेणीमा वर्गीकरण गर्ने बताएका छन् ।

बिरामीका अवस्था गम्भीर देखिए तत्काल शिविरबाट वीपी प्रतिष्ठानको इमरजेन्सीमा रिफर गर्ने प्रबन्ध मिलाइएको छ । डेंगु मध्यम अवस्थामा रहेका बिरामीलाई प्रारम्भिक उपचार गरी प्रतिष्ठान स्थित डेंगु अस्पताल पठाइने छ ।

डेंगु देखिएका प्रारम्भिक अवस्थाका बिरामीहरूलाई शिविरमा राखेर उपचार गरिने व्यवस्था गरिएको छ । उक्त निःशुल्क शिविर धरानमा डेंगु महामारी पूर्ण रूपमा नियन्त्रणमा नआए सम्म सञ्चालन गरिने सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ।

dengue sivir 2