काठमाडौँ : अभिनेत्री सुरक्षा पन्त स्टार फिल्म ‘जुलेबी’ भोलि शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदै छ । गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा यौनकर्मी पात्रको भूमिकामा छिन् सुरक्षा, जसको कथा रत्नपार्कसँग जोडिएको छ । यस फिल्मको पात्र आफूले अहिलेसम्म निर्वाह गरेका मध्येको गाह्रो लागेको सुरक्षा सुनाउँछिन् ।

त्यसको कारण हो, समाजको संवेदनशील पात्रको भूमिका निर्वाह गर्दै थिइन् उनी । त्यसमाथि यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरू हच्किने डर रहन्थ्यो । उनीहरू खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो ।

यद्यपि, जति धेरै इन्फरमेसन आयो, त्यति पात्रलाई न्याय गर्न सक्थिन् । त्यसैले त्यो पात्रको तयारी गर्न गाह्रो हुने उनलाई सुरुवातमै लागेको थियो । तर, उनी हरेक फिल्ममा चुनौती मोल्न तयार अभिनेत्री हुन् । यसअगाडिका फिल्मबाट उनले त्यो कुरा प्रमाणित गरिसकेकी छिन् । ‘जुलेबी’मा पनि उनले चुनौती मोल्न तयार भइन् ।

त्यसका लागि केही पूर्व तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगिन् । तर, त्यसरी जाँदा पात्रसँग भेट्न पाइनन् । कोहीसँग बोल्न, कुरा गर्न पाइनन् ।

फिल्मकै सदस्यमार्फत एक जना यौनकर्मी महिलासँग भेट गर्ने अवसर मिल्यो । ‘उहाँले एउटा कलाकारका रूपमा महिला चिन्नुहुँदो रहेछ । तपाईँको फिल्म हेरिरहेको हुन्छु भन्नुभयो । भेट्दा खेरी नै खुसी हुनुभयो’ सुरक्षा पात्रको तयारीका कुरा सुनाउँछिन् ‘उहाँलाई विश्वास लाग्यो होला सायद, धेरै कुराहरू मज्जाले सेयर गर्नुभयो । त्यसले मलाई पात्रको तयारीका लागि धेरै सहज भयो ।’

एउटै पात्रलाई नियालेर बस्नुपर्दा बडिल्याङवेजका लागि भने उनलाई ‘टफ’ भयो । यद्यपि, अन्य यौनकर्मी महिलासँग कुरा गर्ने अवसर नपाए पनि उनीहरूको ‘बडिल्याङवेज’ नियालिन् । धेरै पात्रबाट थोरै धेरै कुराहरू लिइन् र अर्कै फ्युजनको पात्रमा आफूलाई ढाल्दै गइन् । ‘मेरो पात्र हेर्दा खेरी एउटै क्यारेक्टरजस्तो नदेखिएको राम्रो । कोही पनि व्यक्तिलाई इंकित गरेको जस्तो नदेखिएको राम्रो । यो को हो, को हो ? भनेको जस्तो देखिनु अझ राम्रो हो । त्यसले संवेदनशीलता मेन्टेन गर्छ’ उनले भनिन् ‘मैले सबैबाट अलिअलि बडिल्याङवेज लिएकी हुँ । यो केटी अलिकति हावा पनि छ । सिरियस पनि छ । उडाइदिई पनि रहेको हुन्छ । घरीघरी राम्री पनि देखिइरहेको छ । घरीघरी कस्तो नराम्रो देखिइरहेको छ । त्यसरी सबै फ्युजन गरेर तयार गरेको हो ।’

डबिङका क्रममा सुरक्षाले फिल्म हेरिन्, त्यसपछि उनी फिल्मलाई लिएर सन्तुष्ट छिन् । ‘दर्शकलाई कस्तो लाग्ने हो, त्यो त अहिले भन्न सक्दिन’ उनले भनिन्, ‘तर, म चाहिँ सुखी छु । फिल्मलाई लिएर सन्तुष्ट छु ।’

फिल्मको कथा तह-तहमा रहेको उनले जानकारी दिइन् । सोहीकारण अर्को किसिमका दर्शकका लागि फिल्म अझ रुचिकर हुनसक्ने अपेक्षा उनको छ । फिल्ममा सुरक्षासँगै उषा रजक, निशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको शीर्ष अभिनय छ । फिल्मले रत्नपार्कसँग जोडिने यी शीर्ष पात्रको चाहना र जेलिएको मायाको कुरा गर्ने सुरक्षा बताउँछिन् ।

‘हामीले अलिकति लेयरवाला फिल्म हेर्नै पाएका छैनौँ, सबै सतही-सतही भयो । जेलिएका सम्बन्धहरूको बारेमा भित्री गहिराईसम्म पुगेका कथा खोइ त ? भनेर फरक खोज्नुभएका दर्शकहरूले अझ बढी रुचाउनुहुनेछ’ उनी भन्छिन्, ‘तर, अलि सटेन धार हेरिरहनुभएको, त्यसमा इन्जोय गरिरहनुभएका दर्शकहरू के गर्नुहुन्छ थाहा छैन । यद्यपि, क्रिटिक्सबाट चाहिँ राम्रो फिडब्याक आउने अपेक्षा लिएकी छु ।’  केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ । आभा शर्मा नेपाल यस फिल्मको निर्माता रहेकी छन् । चलचित्रको कार्यकारी निर्माता नवीन भट्ट हुन्।