धरान : सुनसरी जिल्ला प्रशासनले धरानमा जारी कर्फ्यु आदेशका कारण आज शनिवार बिहानै देखी बजार क्षेत्र सुनसान छ । हिजो शुक्रवार राती १२ बजे देखी लागु भएको कर्फ्यु अवधि आज शनिवार राती १२ बजे सकिन्छ । प्रशासनद्वारा जारी निषेधादेशमा यसको अवधि बढाउन सकिने उल्लेख छैन ।

कर्फ्यु अवधिमा धरान प्रवेश गर्ने ५ नाकामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताएका छन् ।

उनका अनुसार धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका-१ मा पर्ने झन्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट वराहक्षेत्र नगरपालिका-३ चोकबाट धरानतर्फको क्षेत्र प्रवेशमा कडाइ गरिएको छ ।

यस्तै, इटहरी-२० तरहरा पानीपियादेखि उत्तर धरान क्षेत्र, धरान-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

तोकिएका नाकाहरूमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गर्ने बाहेक अन्य अनावश्यक कामका लागि हिँडडुल र भेला गर्न पाइने छैन । कर्फ्यु उल्लङ्घन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले चेतावनी दिएको छ ।

kurfiu time 2

kurfiu time 3

kurfiu time 4

kurfiu time 5