इटहरी : कोसी प्रदेशमा आज (सोमबार) बाट बजेट विहीनताको अवस्था देखा परेको छ । अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन नहुँदा प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको हो ।

पूर्व मुख्यमन्त्री हिकमतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट असार १४ गते प्रदेशसभामा पेस भएको थियो । ६० दिन भित्र प्रतिस्थापन विधेयक संसदमा टेबल हुन नपाएपछि बजेट होलिडे सुरु भएको हो ।

जसको कारण प्रदेश सरकार मातहत रहेका यातायात, मालपोत, वन तथा खनिज जन्य क्षेत्रमा हुने राजस्व सङ्कलनमा समस्या सृजना भएको छ । प्रदेश मातहतका कार्यालयमा हुने साधारण खर्च समेत सोमबारबाट रोकिने भएको छ । जसले नियमित काम कारबाही प्रभावित हुने देखिन्छ । कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रम रोकिने भएका छन् ।

कार्कीले अध्यादेश मार्फत जेठ ३२ गते बजेट ल्याएका थिए । भदौ १० भित्रमा जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता थियो । त्यस बिचमा सरकार हेरफेरले गर्दा बजेट पारित हुन सकेन । कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जनता समाजवादी पार्टीले जेठ १७ गते र माओवादी केन्द्रले २२ गते फिर्ता लिएपछि बजेट सङ्कट सुरु भएको हो ।

हाल नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा कामचलाउ मुख्यमन्त्री छन् । सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न आदेश दिएपछि कामचलाउ भएका उनले बजेट अध्यादेश ल्याउन सकेनन् । बजेट विहीनताको अवस्था सृजना भएपछि सरकार अदालत जाने तयारीमा छ ।