धरान : इटहरी-२ की ४४ वर्षीय यशोदा श्रेष्ठको दुई दिन अघि धरानमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तर हत्या के कसरी भएको हो भन्ने कुरा खुल्न नसकेकोले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा धरान-१७ का २७ वर्षीय टेकबहादुर दर्जी छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभुप्रसाद ढकालका अनुसार इटहरीकी यशोदा भदौ १३ गते राति ११ बजेतिर टेकबहादुरको घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरी प्रमुख ढकालले भने ‘हत्या कसरी भयो पोस्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने छ ।’ हत्याको कारण लेनदेन हुनसक्छ । तर के र कति लेनदेन भन्ने कुराको चाहिँ अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरी घटनास्थल पुग्दा यशोदा मृत अवस्थामा भुइँमा लडेकी थिइन । नाङ्गो आँखाले हेर्दा उनको शरीरमा कुनै चोटपटक थिएन । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार हत्या हुनुअघि यशोदा र टेकबहादुरबिच लेनदेनको विषयमा विवाद भएको थियो । यद्यपि हत्या कसरी भयो भन्ने कुरा भने केही पत्ता लाग्न सकेको छैन ।

प्रहरीले टेकबहादुरको घरपरिवार र अन्य व्यक्तिसँग पनि सोधपुछ गरिरहेको छ । हत्याको कारण लेनदेन नै रहेको देखिन्छ । सबै घटना केलाएर हेर्दा प्रारम्भिक अनुसन्धानमा लेनदेनको विषय र रिस र आवेगमा घटना भएको देखिन्छ । ढकालले भने ‘तर, एकै चोटि रिस र आवेगमा आउने गरी दुईबिच त्यस्तो के भएको थियो ? उनीहरू बिच पहिलेदेखि कुनै विषयमा झगडा भइरहेको थियो ? भन्ने प्रश्नले कारण खुल्न सकेको छैन ।’

हत्यामा टेकबहादुर बाहेक अरूको पनि संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ । यसअघि टेकबहादुर कुनै आपराधिक गतिविधिमा संलग्न थिए वा थिएनन् भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतमा म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिए ।