धरान : धरान मेघा हिमालयन कलेजले सञ्चालन गर्दै आएको ‘यु’ १८ ‘धरान मेघा रेवाहाङ स्मृति कप अन्तर स्कुल बास्केटबल प्रतियोगिता’को दोस्रो संस्करणको तयारी पुरा भएको छ । प्रतियोगिता भदौ २५ देखी ३० गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा धरान सुनसरी, झापा, धनकुटाका १६ स्कुलका टिमहरू सहभागी हुने निश्चित भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी दिएका छन् ।
धरानबाट आयोजक धरान मेघा हिमालयन कलेज ए र बी, डिपो स्कुल, सियोन स्कुल, धरान आदर्श, धरान उच्च ए र बी, प्रभात स्कुल, नवोदय युएन स्कुल, कार्मेल स्कुल, होलिल्याण्ड स्कुल, विष्णु मेमोरियल, युनाइटेड गोर्खाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।
इटहरी तरहराबाट हिमशिखर स्कुल, बिर्तामोडबाट आदर्श स्कुल अफ म्यानेजमेन्ट र धनकुटाबाट बाल संसार सेकण्डरी स्कुलको टिम सहभागी रहने बताइएको छ । विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री अशोक राईको उपस्थितिमा उद्घाटन खेल आयोजक धरान मेघा र होलिल्याण्ड स्कुल बिच हुनेछ ।
उदयमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा उनका अभिभावकको सहकार्यमा धरान मेघा हिमालय कलेजले प्रतियोगिता सुरु गरेको हो । समाजसेवी धरान-१८ का रेवतीरमण राई र सुजाता राईका छोरा रेवाहाङको १६ वर्षको अल्पायुमै देहावसान भएको थियो ।
प्रतियोगितामा १२ कक्षा सम्म १८ वर्ष उमेर समूहका विद्यार्थीहरू मात्र सहभागी हुनेछन् । प्रतियोगीताको विजेता टिमलाई २० हजार नगद पुरस्कार सहित ट्रफि प्रदान गरिने छ । उपविजेताले १० हजार, उत्कृष्ट खेलाडीले २५०० नगद, उत्कृष्ट स्कोररले २ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता बिच थ्री प्वाइन्ट बास्केट प्रतिस्पर्धा पनि हुनेछ । उक्त प्रतिस्पर्धाका विजेतालाई २ हजार नगद र ट्रफि प्रदान गरिने छ ।
अध्यक्ष लिम्बुले पत्रकार सम्मेलनमा भने ‘खेलकुदको सहर धरानमा विद्यार्थीहरू माझ बास्केटबल खेलप्रति बढ्दो रुचिलाई प्रोत्साहित गर्न प्रतियोगिता सञ्चालन गरिएको हो ।’ कलेजका विद्यार्थीहरूको बास्केटबल टिम राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदै आएको उनले बताए । धरान मेघा हिमालयनमा प्ले ग्रुप देखी व्याचलर तह सम्म ११ सय विद्यार्थी छन् ।


































































