धरान : धरान मेघा रेवाहाङ कप बास्केटबल प्रतियोगिताको आज सोमवार भएको उद्घाटन खेलमा धरान आदर्श कलेज, वाल संसार धनकुटा र होलिल्याण्ड विजयी भएका छन् । 

आदर्शले कार्मेल स्कुललाई ३४-१९ अङ्कले पराजित गरेको हो । अर्को खेलमा बाल संसार सेकेन्डरी धनकुटाले युनाइटेड स्कुललाई ४९–६ अङ्कले पराजित गर्‍यो । 

यसैगरी आजै भएको खेलमा होलिल्याण्ड स्कुलले धरान मेघा वि टिमलाई ३७-१४ अङ्कले पराजित गरेको छ । खेलको प्रत्येक क्वाटरमा धरान आदर्श र कार्मेल स्कुलले ६-४, ५-४, ८-३ र १५-८ अङ्क जोडेका थिए । 

दोस्रो खेलमा वाल संसार धनकुटा र युनाइटेड गोर्खाले ११-२, १५-०, १२-० र १०-४ र तेस्रो खेलमा होलिल्याण्ड स्कुल र धरान मेघा स्कुलले १०-४, ७-६, १४-२ र ६-२ अङ्क जोडे । 

उद्घाटन खेलमा धरान आदर्शका सरिन थापा मगरले व्यक्तिगत १४, दोस्रो खेलमा वाल संसारका प्रेदित मगरातिले १२ र होलिल्याण्ड स्कुलका करुण तामाङले १२ अङ्क जोडेका छन् ।

मेघा हिमालयन कलेजको आयोजनामा दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल कप अन्तर स्कुल बास्केटबल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गरेका थिए ।

धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रदेश सांसद रमेश बस्नेतले धरानमा सबै जातजाति धर्म समुदाय मिलेर जाँदा बाह्य तत्त्वले धरानलाई केही गर्न सक्ने सम्भव नभएको बताए । 

जाती, धर्म, समुदाय भन्दा माथि उठेर धरानलाई परिचित गराउन राजनैतिक दल, दलका नेताहरू र जिम्मेवार सबै पक्ष मिलेर गए धरानमा राम्रा,सफल र अनुकरणीय कार्य गर्न सकिने उनको भनाई थियो ।  

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले धरान खेलकुदको सहर भएको बताउँदै बास्केटबललाई सङ्गठित रूपमा पहिलो प्रयत्न धरानबाट भएको स्मरण गराए । उनले भने ‘धरानको बहु जाति बहुसास्कृतिक विविधतामा एकता र सद्भावको परम्परालाई जोगाउन सामूहिक योगदान र जिम्मेवारी आवश्यक रहेको छ ।’

उद्घाटन समारोहमा सङ्घीय सांसद सुशीला श्रेष्ठ, प्रदेश सभाका सांसदहरू विजयकुमार राई, वडाध्यक्षहरू मनोज भट्टराई, मुरारी भट्टराई, प्रवीण राई, कृष्ण भट्टराई, नेकपा एमाले धरान अध्यक्ष हर्कजंग एभेङ, सुनसरी ब्याडमिन्टन सङ्घ अध्यक्ष नारायण सुवेदी लगायतको उपस्थिति थियो ।

प्रतियोगितामा धरान, झापा, धनकुटाका १६ विद्यालयका टिमले प्रतिस्पर्धा गर्दै । कक्षा १२ सम्मका विद्यार्थीहरू टिममा सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद २० हजार, ट्रफी, मेडल प्रदान गरिनेछ ।

दोस्रो हुनेले नगद १० हजार ट्रफी, मेडल प्राप्त गर्नेछ । मोस्ट भ्यालुएवल प्लेयरले नगद २ हजार ५ सय, ट्रफी र उत्कृष्ट स्कोरर, उदीयमान खेलाडीहरूलाई नगद २ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।