धरान : विज्ञान प्रविधि तथा शिक्षा मन्त्री अशोक राईले धरानमा खेलकुद, सङ्गीत तथा कला विश्वविद्यालयको लागि उपयुक्त सहर भएको बताएका छन् । उच्च शिक्षाको अङ्ग समेत बनेकाले खेलकुद अब रहर र लहडको विषय मात्र होइन, देशको प्रतिष्ठा बढाउने करियरको आधार समेत बनेको उनले बताए ।

धरानमा दोस्रो धरान मेघा-रेवाहाङ स्मृति कप बास्केटबल प्रतियोगिताको उद्घाटन समारोहमा सोमवार बिहान प्रमुख अतिथि मन्त्री राईले धरानको शैक्षिक विकासलाई थप अघि बढाउन ‘धरानमा म्युजिक र स्पोर्ट युनिभर्सिटी खोल्न सकिने’ सम्भावना भएको बताए ।

धरान कला, साहित्य र खेलकुदको उर्भरभुमी भएकाले धरान विश्व विद्यालयीय संस्था स्थापना गर्न प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने उनको भनाई थियो । उनका अनुसार विश्वभर खेलकुदको क्षेत्रलाई शिक्षासँग जोडेर ‘स्पोर्टस् साइन्स’ पढाई हुने गरेको छ ।

उनले भने ‘नेपालमा त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तर तहमा खेल विज्ञानको पाठ्यक्रम पठन पाठन गर्दै आएको छ ।’ धरानमा पनि ‘म्युजिक र सपोर्ट’ विषयका युनिभर्सिटी लेभलको उच्च शैक्षिक संस्था खोल्ने सम्भावना रहेको उनले बताए ।

मन्त्री राईले धरानमा त्यस्तो विश्व विद्यालयीय शिक्षाको सुरुवात गर्न निकै मिहिनेत गर्नुपर्ने अवस्था रहेको बताए । देशको आर्थिक अवस्था उन्नत नरहेकोले सरकारी कोषमा बजेट जम्मा गर्न नसकेको अवस्थामा त्यस्तो योजना तत्काल कार्यान्वयन गर्न सकिने अवस्था नभएको पनि स्पष्ट गरे ।

खेलकुदमा नाम, काम, दाम’ रहेकाले खेलप्रति उत्साहित र उत्प्रेरित भई खेलमा एकाग्र भएर लागे नाम, काम, दाम कमाउँदै उत्कृष्ट खेलाडी भएर राष्ट्रको सम्पत्ति बन्ने अवसर रहेको उनको भनाई छ । उनले भने अहिले विश्वका धनाढ्य व्यक्तिको रूपमा खेलाडीहरूको नाम आउने गरेको उदाहरण दिए । 

अन्तर्राष्ट्रिय राजनीतिमा खेलकुद कूटनीतिले प्राथमिकता पाउनुको कारण बारे चिनिया भनाई उद्धृत गर्दै मन्त्री राईले भने ‘खेलकुदमा पहिले मित्रता आउँछ, त्यस पछि मात्र प्रतिस्पर्धा हुन्छ ।’ खेल जीवन आफ्नो र देशको लक्ष्य प्रतिष्ठा सँग जोडिएकाले लक्ष्य र उद्देश्यमा स्पष्ट भएर दत्त चित्त साथ लाग्नु पर्ने खेलाडी एवं विद्यार्थीहरूलाई उनले सुझाव दिए ।

सुनसरी-१ धरानबाट प्रतिनिधि सभामा निर्वाचित मन्त्री राई आफूले कल्पना गरे अनुसार चाहाना इच्छा आकाङ्क्षा भएपनि देशको आर्थिक अवस्थाका कारण इच्छाएका विकासका काममा खुम्चिएर बस्नु परेको बताए ।

राज्यको आर्थिक अवस्था भरपर्दो नभएकोले विकासका काममा तुरुन्त पहल कदमी गर्न कठिन रहेको बताउँदै उनले आर्थिक वर्ष ०७९/०८० को १७ खरब ८८ अर्बको बजेटमा लक्ष्य अनुसार राजश्व सङ्कलन हुन नसक्दा अर्थ मन्त्रालयले २ खरब ६२ अर्ब बजेट कटौती गर्नु परेको बताए ।

उद्घाटन समारोह आयोजक धरान मेघा हिमालय कलेका अध्यक्ष केलाश लिम्बुको सभापतित्वमा भएको थियो । उक्त अवसरमा प्रतियोगीताका संस्थापक अक्षयकोष दाता रेवतीरमण राईले दिवङ्गत छोरा रेवाहाङ बास्केटबलका खेलाडी भएकोले उनको स्मृतिमा प्रतियोगीताका लागि अक्षयकोष स्थापना गरिएको बताए ।

प्रदेश सभा सांसद रमेश बस्नेत धरान उपमहानगरपालिका उपमेयर आइन्द्रबिक्रम बेघा, नेकपा एमालेका नगर अध्यक्ष हर्कजंग एभेङ, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

mantri rai 2