धरान : धरानमा धार्मिक र संस्कृति अतिवादीहरूले सामाजिक सञ्जालमा वितण्डा मच्चाइरहेको बेला हङकङमा नेपाली महासङ्घले ‘सांस्कृतिक सद्भाव मेला २०२३’ मनाएको छ ।

चिनिया लगायत अन्य समुदायका बिच हङकङ नेपाली महासङ्घले आइतबार हेनरी जि ल्योङ याउमातेई कम्युनिटी सेन्टरमा ‘कार्निभलः कल्चर हारमोनी हेप्पी हङकङ’ सांस्कृतिक सद्भाव मेला आयोजना गरेको हो ।

महासङ्घका अध्यक्ष रिता गुरुङले भनिन्, ‘सङ्घीय गणतन्त्र चीनको स्वशासित क्षेत्र हङकङ मुख्य भूमिमा फिर्ता भएको २६ औँ वार्षिकोत्सवको खुसीयालीमा महासङ्घले यो सांस्कृतिक सद्भाव मेला आयोजना गरेको हो ।’

हङकङमा अल्पसङ्ख्यक नेपाली समुदायले सांस्कृतिक सद्भाव देखाएकोमा हङकङ सरकारका विधान परिषद् विधायक भिन्सेन्ट चेङ्ग, होम अफेयर्स डिपार्टमेण्टका याउचिममोङ्ग डिष्ट्रीक अफिसर एडवर्ड याउले उपस्थित भएरै प्रशंसा गरेको उनले बताइन् ।

चिनिया प्रतिनिधिहरूले यस्ता सांस्कृतिक सद्भाव हङकङको समाजमा अपरिहार्य रहेको पनि बताएको अध्यक्ष गुरुङले उल्लेख गरिन् । मेला मार्फत हङकङ–चीन बुझ्ने बुझाउने र त्यहाँका नेपाली सहित अन्य समुदायको संस्कृतिलाई पनि बुझ्ने बुझाउने काम भएको उनको भनाई छ ।

सद्भाव मेलालाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले सहयोग गरेको थियो । मेलामा प्रमुख अतिथि हङकङका लागि नेपाली महावाणिज्य दूत सतिश गुरुङ थिए । मेलामा जातीय समुदायका सांस्कृतिक प्रस्तुतिहरू, जनचेतना जगाउने स्टलहरू राखिएको थियो ।

honkong 2