धरान : धरानका उपमेयर अइन्द्र विक्रम बेघाका ठुलो कान्छा भाइ विष्णु बेघा सहित ८ जना युवालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरू धरान-१५ सूर्य बस्तीका वर्ष २४ का अमृत तामाङ, वर्ष २३ का अनिल मगर, वर्ष २५ सजिव राई, वर्ष २४ का बाघबिरे भन्ने सुरज तामाङ, वर्ष २० का मेनल तामाङ, वर्ष २९ का राज कुमार लिम्बू, वर्ष २६ को दीपेन्द्र राई (सागर), खोरिया बस्तीका उपमेयरका भाइ वर्ष २३का विष्णु बेघा रहेका छन् ।

हिजो मङ्गलवार भएको ग्याङ फाइटमा उपमेयर बेघाका ठुलो कान्छा भाइ विष्णु बेघा सामान्य घाइते र अर्को समूहका युवा सन्देश राई गम्भीर घाइते भएका थिए ।

सुरुमा सन्देश राईलाई धारिलो हतियार प्रहार गरी विष्णु बेघा भागेको र सन्देशको ग्याङले उपमेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

खोरिया बस्तीमा रहेको घर पुगेका बेघालाई सन्देश राईको ग्याङले खोज्दै घर पुगेपछि बेघालाई घरबाट बाहिर निस्कन भन्दै केटाहरूले बोलाएको र बाहिर नआएपछि घरमा ढुङ्गा मुढा गरेको र घरभित्रै पसी बेघालाई गालामा काटेका थिए । बेघालाई काटेपछि सन्देश राईलाई साथीहरूले काटेको हुन सक्ने अनुमान उपमेयर आईन्द्र विक्रम बेघाले बताए ।

उनले भने दुई टोलका युवाहरूबिच पुरानो रिसिइबीले मङ्गलवार उक्त घटना भएको हुन सक्ने बताए । उनले भने 'घट्नाको दोषी जो सुकैलाई छोडिनु हुन्न कानुन अनुसार कारबाही हुनुपर्छ' । घट्नाको मुख्य दोषी आफ्नै भाइ भए पनि छोड्न नहुने तथा दोषीलाई कडा कारवाही हुनुपर्ने उनको भनाई छ ।

आफ्नो भाईपनी झगडिया नै भएको उनले बताए । उपमेयर बेघाले भने फाइट गर्ने समूह बाझगरा सामुदायिक बन कार्यालय तोडफोड गरेर नजिकको घर भएकाहरू सँग पैसा उठाउँदै मासु भात बनाउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरी बताएको जानकारी दिए ।

प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको इलाका प्रहरी धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट ३ थान गुलेली ३ थान खुकुरी समेत बरामद गरेको छ ।