धरान : धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका कान्छा भाइ विष्णु बेघा माथि खुकुरी प्रहार भएको छ ।

मङ्गलवार सूर्य बस्तीका १५ देखि २० जनाको समूह आएका युवाहरूले धरान-१५ खोरिया बास्तिमा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका थिए ।

सूर्य बस्तीका एक हुल केटाहरूले कट्टी लिएर बेघालाई खेदाएको स्थानीयले जानकारी दिए । उनलाई देब्रे पट्टिको गालामा खुकुरी प्रहार भएको स्थानीय बासिन्दाहरूले बताए ।

खुकुरी प्रहारबाट घाइते बेघा २३ वर्षका हुन । घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताए ।

घटना आज साँझ ५ बजे तिरको हो । घरमा एक हुल केटाहरूको समूहले घरमा ढुङ्गा मुढा समेत गरेको बेघाकी आमा दिल कुमारी बेघाले जानकारी दिइन ।

बेघाकी आमाले दिएको जानकारी अनुसार घरमा कोही नभएको समयमा घर भित्रै पसी छोरामाथि खुकुरी प्रहार भएको  हो । 'छोरा विष्णु घरभित्र कोठामा बसिरहेको थियो एक हुल केटाहरूको समूहले खुकुरी प्रहार गरे'-उनले भनिन् ।

उपमेयर बेघाले घरमा घटना हुने बित्तिकै इलाका प्रहरी कार्यालयका डिएसपी मल्ललाई जानकारी गराए पनि प्रहरी भने घटना घटेको ३० मिनेट पछि आएको घटना स्थलमा आइपुगेको बेघाले बताए ।

घाइते भएका भाइ विष्णु बेघा उपमेयरका ठुलो कान्छा भाइ हुन ।