धरान : अष्ट्रियाको सबैभन्दा अग्लो ३७८९ मिटर उचाइ रहेको हिमाल ग्रोसग्लोक्नेरमा नेपाली युरोपियन खेलकुद सङ्घ, एनइएसीको झण्डा फहराइएको उक्त सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष दिलकुमार घमालका अनुसार सङ्घलाई देश तथा विदेशमा परिचित गराउने उद्देश्यले अष्ट्रियाको सबैभन्दा अग्लो हिमालको चुचुरोमा सङ्घको लोगो सहितको झण्डा फहराइएको हो । अष्ट्रियाको स्थानीय भाषामा ग्रोसग्लोक्नेर भनेको ठुलो घण्टी हो । हिमाल घण्टीको आकारजस्तै भएकाले स्थानीय भाषाबाट ग्रोसग्लोक्नेर राखिएको घमालले बताए ।

सन् २०२० मा अष्ट्रियाको इन्स्ब्रुकमा गठन भएको सङ्घले नेपालको राष्ट्रिय खेल भलिबललाई युरोपमा समेत परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सङ्घका महासचिव राजु विश्वकर्मा र कोषाध्यक्ष गारा तेम्बा शेर्पाले उक्त हिमाल आरोहण गरेका हुन् ।

अध्यक्ष घमालका अनुसार आरोहीद्वय हिमालको २९ सय मिटरमा पुग्न सफल भए । महासचिव र कोषाध्यक्षले आरोहण जारी राखे पनि आफू आधार शिविरबाट माथि नगएको उनले बताए । भने ‘हिमाल चढ्ने अभ्यास नभएका कारण माथि पुग्ने आँट आएन ।’

कोषाध्यक्ष शेर्पा भने सो हिमालको चुचुरामा चार पटक पुगिसकेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित सङ्घले युरोपका विभिन्न देशमा हुने भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सङ्घ आफैँले पनि प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष घमालले बताए ।