धरान : महिना दिन अघि धरान वडा ३ दोभान चौकमा रहेको जोर्डन ज्वेर्लसको सटर फोडेर २५ लाख मूल्य बढीको सुनका गहनाहरू चोरी भएको घट्नामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज-३२ टेढागाउँका हविव मियाको छोरा ३२ वर्षीय महमद बसिर मियाँ र भारतको मोतिहारी घोडासैन घर भई हाल चितवन जिल्ला भरतपुर-१२ बस्ने १९ वर्षीय महिला रितु साह छिन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई पर्सा जिल्लाको वीरगन्ज र चितवन जिल्लाको भरतपुरबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएका दुवैलाई हिजो बिहीबार सुनसरी जिल्ला अदालतबाट ७ दिने म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

उनीहरूबाट चोरी गरिएका सुनका गहनाहरू मध्ये सुनको जस्तो देखिने करिब ४ आनामा बनेको घाँटीमा लगाउने जन्तर जस्तो गहना १ थान, चाँदीको जस्तो देखिने सिक्री अन्दाजी १ तोलाको १ थान र चाँदीको जस्तो देखिने ५ तोलाको पाउजु १ जोर रहेको प्रहरीले जनाएको छ ।

गएको भदौ १६ गते राती धरान-३ दोभान चौक स्थित विशाल लिम्बुको घरको भुईँ तलाको सटर कोठामा सुनिल विश्वकर्माले सञ्चालन गर्दै आएको जोडन ज्वेर्लस सुन पसलको सटर फोरेर सुनका गहना चोरी भएको थियो ।

उक्त घट्नामा सञ्चालक सुनिल विश्वकर्माले पसलबाट अन्दाजी २५ लाख ६९ हजार १८२ रुपैयाँका मूल्य बराबरका सुनका गर गहना तथा चाँदीका भाँडाकुँडा, गहनाहरू चोरी गरी फरार भएको जाहेरी दिएको थियो ।