इटहरी : ओम्नी मोटर्स प्रालीले लामो समय देखी तलब भुक्तानी नगरेको भन्दै इटहरीका नीरज भट्टराईले कानुनी प्रक्रिया सुरु गरेका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा प्रालि विरुद्ध उजुरी दर्ता गराएका उनी कानुनी लडाइँमा लागेका हुन् ।

बारम्बार कम्पनीमा ताकेता गर्दा पनि तलब भुक्तानी नभएको उनको गुनासो छ । ६ वर्ष एउटै कम्पनीमा काम गरेका उनले कम्पनी छाड्ने बेला पछिल्लो समयको तलब पाएका छैनन् । हाल सम्मको तलब भत्ता, सञ्चय कोष र उपदान सहित ६ लाख भन्दा बढी रकम लिन बाकी रहेको भट्टराईले बताए ।

‘दुई पटक श्रम तथा रोजगार कार्यालयमा निवेदन दिँदा बल्ल उत्तर आयो । राजीनामा स्वीकृत समेत नभएको तर तलब रोक्का मात्र भएको छ,’ उनले भने,

‘आफूसँग भएको कम्पनीको मोबाइल सिम, ल्यापटप तथा अन्य कागज सबै बुझाएको छु । एक महिनामा सबै हिसाब आउँछ भनेको रकम अहिलेसम्म आएको छैन ।’ उनले गत जेठमा राजीनामा दिएका थिए ।

ओम्नी मोटर्स प्रालीका मानव संसाधन तथा प्रशासन प्रमुख सुजन बुढाथोकीले भट्टराई सँग संवाद भइरहेको बताएका छन् । आक्रोशित हुँदै उनले कानुनी प्रक्रियामा गएको विषयमा थाहा नभएको बताए ।

कहिलेसम्म पैसा दिने भन्ने विषयमा उनले खुलाउन चाहेनन् ।